कार्यालयको सम्पर्कबाहिर रहेका १४ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
१० मंसिर २०८३, बिहीबार १३:०७

काठमाडौं । लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका १४ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुन र गैरहाजिर रहनुको उचित कारण पेस गर्न भनेको हो।
प्रहरीका अनुसार पटक–पटक खोजतलास गर्दा पनि उनीहरू सम्पर्कमा आएका छैनन्। प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११५ को उपनियम (२) बमोजिम सूचना टाँस गर्दासमेत उनीहरू कार्यालयको सम्पर्कमा नआएपछि प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो।












