छोराको पहिलो जन्मदिनमा रिलायबल नेपाल लाइफको २० लाखको जीवन बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय जन्मदिन, विवाह, व्रतबन्ध लगायतका विशेष दिनहरुमा महंगा र क्षणिक रमाइलोका उपहार दिनुको सट्टा जीवनको आर्थिक पाटोसँग जोडिएको जीवन बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ ।
यसैको पछिल्लो उदाहरणस्वरुप जन्मदिनमा भौतिक सामग्रीभन्दा सन्तानको भविष्य सुरक्षित बनाउने उद्देश्यले भरतपुरका एक दम्पतीले छोरालाई जीवन बीमा पोलिसी उपहार दिएका छन्।
भरतपुर महानगरपालिका–१५, कालेश्वर निवासी बलराम थापा मगर र उनकी श्रीमती सपना घलानले छोराको पहिलो जन्मदिनको अवसरमा २० लाख रुपैयाँ बीमाङ्कको ‘रिलायबल सर्वसुलभ बाल जीवन बीमा’ पोलिसी उपहार दिएका हुन्।
छोराको उज्ज्वल भविष्य र दीर्घकालीन आर्थिक सुरक्षालाई ध्यानमा राखेर बीमा पोलिसी उपहार दिएको दम्पतीले जनाएका छन्। जन्मदिन, पास्नी, व्रतबन्ध तथा अन्य पारिवारिक समारोहमा भौतिक सामग्री दिनुभन्दा बालबालिकाको भविष्यका लागि आर्थिक आधार तयार गर्नु महत्वपूर्ण हुने उनीहरूको बुझाइ छ।
पछिल्लो समय विभिन्न सामाजिक तथा पारिवारिक अवसरमा बालबालिकालाई जीवन बीमा पोलिसी उपहार दिने सकारात्मक अभ्यास पनि बढ्दै गएको छ। यस्ता अवसरमा प्राप्त हुने दक्षिणा तथा उपहार रकमलाई अनावश्यक खर्च गर्नुको सट्टा बचत र लगानीका रूपमा उपयोग गर्न सके भविष्यमा उच्च शिक्षा, करियर निर्माण तथा अन्य महत्वपूर्ण आवश्यकतामा सहयोग पुग्ने बीमा अभिकर्ताहरु बताउँछन्।











