राष्ट्रिय ऊर्जा नीति बनाउन उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा ल्याउने

१० मंसिर २०८३, बिहीबार १७:३४

काठमाडौं । सरकारले ऊर्जा क्षेत्रको दीर्घकालीन विकास र नीतिगत दिशा निर्धारण गर्न राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै राष्ट्रिय ऊर्जा नीतिको मस्यौदा तयार गर्न उच्चस्तरीय समिति गठन गरेका हुन्।

जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा गठन गरिएको समितिमा ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधि तथा विज्ञहरू सहभागी छन्। समितिलाई २१ दिनभित्र राष्ट्रिय ऊर्जा नीतिको अवधारणासहित मस्यौदा तयार गरी सरकारसमक्ष पेस गर्ने कार्यादेश दिइएको छ।

प्रस्तावित नीतिमार्फत ऊर्जा उत्पादन, प्रसारण, वितरण, आन्तरिक खपत तथा अन्तर्राष्ट्रिय व्यापारलाई एकीकृत ढंगले अघि बढाउने सरकारको तयारी छ। समितिले मुलुकको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, भविष्यमा हुने विद्युत् माग, उपलब्ध स्रोतसाधन तथा सम्भावित अवसरहरूको अध्ययन गरी आगामी दिनमा अपनाउनुपर्ने नीतिगत दिशा प्रस्ताव गर्नेछ।

विशेषगरी जलविद्युत् उत्पादन विस्तारसँगै आन्तरिक विद्युत् खपत बढाउने, प्रसारण तथा वितरण पूर्वाधार विकास गर्ने र ऊर्जा व्यापारलाई व्यवस्थित गर्ने विषय नयाँ नीतिका महत्वपूर्ण पक्ष बन्न सक्नेछन्। ऊर्जा क्षेत्रमा बढ्दो लगानी र विद्युत् व्यापारको विस्तार भइरहेका बेला सरकारले दीर्घकालीन नीतिगत आधार तयार गर्न लागेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*