ल फर्मभित्रै सेवाग्राही पक्राउ गरिएको घटनाप्रति बारको आपत्ति, दोषीलाई कारबाही गर्न माग

१० मंसिर २०८३, बिहीबार १५:३८

काठमाडौँ । कानुनी परामर्शका लागि ल फर्म पुगेकी एक महिलालाई फर्मभित्रैबाट प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल बार एसोसिएसनले गम्भीर आपत्ति जनाएको छ। डिल्लीबजारस्थित ‘जनचेतना ल फर्म’मा कानुनी परामर्शका लागि पुगेकी सेवाग्राही हस्तमाया बस्नेतलाई बुधबार प्रहरीले फर्मभित्रैबाट पक्राउ गरी लगेको थियो।

उक्त घटनाको विरोध गर्दै फर्ममा आबद्ध ६ जना कानुन व्यवसायीले बिहीबार नेपाल बार एसोसिएसनमा निवेदन दिएपछि बारले विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेको हो। बारका अनुसार कानुनी परामर्श तथा छलफल भइरहेको र सेवाग्राहीका महत्त्वपूर्ण कागजात अभिलेख रहने संवेदनशील स्थानमा कानुनबमोजिम प्रवेश अनुमति नलिई प्रहरीले हस्तक्षेप गरेको थियो।

आफूलाई सिभिल प्रहरी भएको परिचय दिँदै फर्ममा प्रवेश गरेका व्यक्तिहरूले त्यहाँ रहेका कानुन व्यवसायीहरूसँग अमर्यादित तथा असभ्य व्यवहार गरेको बारले जनाएको छ। कानुनी परामर्श र सेवाग्राहीको गोपनीयतासँग जोडिएको संवेदनशील स्थानमा भएको यस्तो हस्तक्षेपप्रति आपत्ति जनाउँदै बारले घटनामा संलग्न दोषीलाई यथाशीघ्र आवश्यक कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाका अनुसार प्रहरी हस्तक्षेप भएको भन्दै अधिवक्ताहरू उद्धव के.सी., रिजन सिलवाल, अनुपराज गौतम, निर्जल थापा, प्रमिस थपलिया र निश्चल श्रेष्ठले एसोसिएसनमा निवेदन दिएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*