बजारमा चलनचल्तीको मुद्रा ९६ अर्बले बढ्यो, राष्ट्र बैंकको वासलात ४१ खर्ब नाघ्यो

१० मंसिर २०८३, बिहीबार १६:१३

काठमाडौं । बजारमा चलनचल्तीमा रहेको मुद्रा चार महिनाको अवधिमा करिब ९७ अर्ब रुपैयाँले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको मासिक वित्तीय विवरणअनुसार बजारमा रहेको कुल मुद्रा ८ खर्ब ९८ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो ।

गत असार मसान्तमा चलनचल्तीको मुद्रा ८ खर्ब १ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो । त्यसयता कात्तिक मसान्तसम्म आइपुग्दा यस्तो मुद्रा ९६ अर्ब ९२ करोड रुपैयाँले बढेको देखिन्छ ।

यसैबीच, नेपाल राष्ट्र बैंकको कुल वासलात पनि उल्लेख्य रूपमा विस्तार भएको छ । गत असार मसान्तमा ३८ खर्ब ७४ अर्ब ९८ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकको कुल सम्पत्ति तथा दायित्व चार महिनामा बढेर ४१ खर्ब ३४ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा राष्ट्र बैंकको वासलात २ खर्ब ५९ अर्ब २७ करोड रुपैयाँले बढेको हो ।

राष्ट्र बैंकको वित्तीय विवरणअनुसार वासलात विस्तार हुनुमा विदेशी सम्पत्तिमा भएको वृद्धि तथा सरकारी र बैंक तथा वित्तीय संस्थाको निक्षेपमा आएको परिवर्तन प्रमुख कारणका रूपमा देखिएका छन् । असार मसान्तमा ३७ खर्ब ३० अर्ब रुपैयाँ रहेको विदेशी मुद्रा सम्पत्ति कात्तिक मसान्तमा बढेर ३९ खर्ब ८९ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

विदेशी मुद्रा सम्पत्तिअन्तर्गत विदेशी धितोपत्रमा गरिएको लगानी २९ खर्ब ३९ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ भने विदेशी बैंकमा रहेको नगद मौज्दात २ खर्ब ८५ अर्ब १ करोड रुपैयाँ कायम भएको छ । अर्कोतर्फ विदेशी बैंकमा राखिएको मुद्दती निक्षेप घटेर ५ खर्ब २५ अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको छ । सुनको प्रमाणपत्रमा गरिएको लगानी २ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकको स्वदेशी मुद्रा सम्पत्ति भने १ खर्ब ४४ अर्ब ४० करोड रुपैयाँ पुगेको विवरणमा उल्लेख छ ।

केन्द्रीय बैंकको दायित्वतर्फ सरकारी निक्षेपमा उल्लेख्य वृद्धि देखिएको छ । गत असार मसान्तमा सरकारी खातामा १ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा कात्तिक मसान्तसम्म बढेर ३ खर्ब १८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

यता बैंक तथा वित्तीय संस्थाप्रतिको राष्ट्र बैंकको दायित्व भने घटेको छ । असार मसान्तमा १२ खर्ब ७७ अर्ब ४० करोड रुपैयाँ रहेको यस्तो दायित्व कात्तिक मसान्तमा घटेर ९ खर्ब १८ अर्ब ३० करोड रुपैयाँमा झरेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा राखेको निक्षेप भने उल्लेख्य रूपमा बढेको छ । असार मसान्तमा ३ खर्ब ९२ अर्ब ५७ करोड रुपैयाँ रहेको यस्तो निक्षेप कात्तिक मसान्तमा बढेर ८ खर्ब ४० अर्ब १० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, राष्ट्र बैंकको जगेडा कोष १० खर्ब ८५ अर्ब ७३ करोड रुपैयाँबाट घटेर १० खर्ब ४७ अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*