इजिप्टमा इन्धन ट्यांकर पल्टिएर भीषण आगलागी, ३१ जनाको मृत्यु

१० मंसिर २०८३, बिहीबार १७:०८

काठमाडौं । इजिप्टको राजधानी कायरोस्थित व्यस्त सडकमा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर पल्टिएर भीषण आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

गत बुधबार साँझ कायरोको रिङ रोडअन्तर्गत गिजा प्रान्तको अल–वराक क्षेत्रमा दुर्घटना भएको हो। तीव्र गतिमा रहेको एक कार ट्यांकरको पछाडिको भागमा ठोक्किएपछि ट्यांकरको टायर फुटेर सडकको कंक्रिट डिभाइडरमा ठोक्किँदै पल्टिएको हो।

त्यसपछि ट्यांकरबाट इन्धन पोखिएर भीषण आगलागी हुँदा आसपासका सवारीसाधनसमेत जलेर नष्ट भएका थिए।

दुर्घटनामा कम्तीमा २७ वटा सवारीसाधन जलेका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ भने मृतकको पहिचानका लागि डीएनए परीक्षणसमेत भइरहेको छ। घटनाबारे इजिप्ट प्रहरीले अनुसन्धान जारी राखेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*