रवि लामिछानेलाई सभामुख घिमिरेले भने, ‘तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?’

१८ माघ २०८१, शुक्रबार १२:४०

काठमार्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा पुगेर निलम्बन फुकुवाको माग गरेका छन्। लामिछानेले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफूलाई गरिएको निलम्बन कानुनसम्मत नभएको भन्दै आजकै संसद बैठकबाट फुकुवा गर्न सभामुखलाई निवेदन दिएका हुन्।

सभामुख घिमिरेले लामिछानेको निवेदनलाई गम्भीरताका साथ सुन्दै संसद नियमावली, विद्यमान कानून र अभ्यासअनुसार नै आफूले निलम्बनको निर्णय गरेको स्पष्ट पारे। ‘कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा निर्णय गरेको होइन’ उनले भने, ‘हिजो यो पदमा अरू कोही थिए, आज म छु, भोलि अरू कोही हुन सक्छ। तर पदमा रहँदा कानूनको परिपालना गर्नु मेरो दायित्व हो।’

सभामुखले लामिछानेको निवेदनलाई छलफल र परामर्शको विषय भएको भन्दै तत्काल निर्णय गर्न नसकिने बताएका छन्। ‘हामी संसद सुरु हुने अन्तिम समयमा छौं। यो विषयमा परामर्शपछि मात्र निर्णय गर्न सकिन्छ’ सभामुखले थपे।

लामिछानेले आफूविरुद्ध लगाइएको आरोपको कानुनी पक्षबारे स्पष्ट पार्न कानून व्यवसायीलाई बोलाउन सभामुखसँग आग्रह गरे। यसक्रममा सभामुखले लामिछानेलाई सोधेका थिए, ‘तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?’

भेटघाटको सुरुमा सभामुख घिमिरेले लामिछानेको स्वास्थ्य अवस्थाबारे पनि चासो राखेका थिए। लामिछानेसँगै रास्वपाका सांसदहरूको उपस्थिति पनि उक्त भेटमा रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*