भदौमै बिजुली बेचेर नेपालले कमायो ५ अर्ब

४ आश्विन २०८३, आईतवार १६:५२

काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै ५ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भदौमा ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यातबाट ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ आम्दानी भएको हो ।

प्राधिकरणको प्रणाली सञ्चालन विभागअन्तर्गत भार प्रेषण केन्द्र (एलडिसी), स्युचाटारले सार्वजनिक गरेको विवरणअनुसार नेपालले द्विपक्षीय सम्झौता र विद्युत् बजारमार्फत भारत तथा बंगलादेशमा विद्युत् बिक्री गरेको हो । द्विपक्षीय सम्झौताअन्तर्गत भारतका हरियाणा र बिहार राज्य तथा बंगलादेशमा विद्युत् निर्यात गरिएको थियो ।

भदौ महिनामा द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख २१ हजार २ सय ८८ युनिट विद्युत् निर्यात भएको छ । यसबाट प्राधिकरणले ३ अर्ब ६४ करोड २५ लाख २८ हजार २ सय ९९ रुपैयाँ आम्दानी गरेको जनाएको छ ।

त्यस्तै, विद्युत् बजारमार्फत १४ करोड ३९ लाख ८५ हजार १ सय ५५ युनिट विद्युत् बिक्री गरी १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार ९ सय ८३ रुपैयाँ आम्दानी भएको छ ।

भोटेकोशीमा आएको बाढीका कारण चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात भने रोकिएको प्राधिकरणले जनाएको छ । अन्य जलविद्युत् केन्द्रबाट बंगलादेशमा विद्युत् निर्यात पुनः सुरु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षसँग अनुरोध गरिएको पनि प्राधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चुनौतीपूर्ण अवस्थामा समेत विद्युत् निर्यातबाट भएको आम्दानीलाई विद्युत् व्यापारमा सुधारको संकेतका रूपमा उल्लेख गरेका छन् ।

उनका अनुसार गत आर्थिक वर्षको भदौमा नेपालले विद्युत् निर्यातबाट ४ अर्ब ७० करोड ८२ लाख ८८ हजार ५ सय ६५ रुपैयाँ आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको सोही महिनामा निर्यात आम्दानी ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ पुगेको हो । गत वर्षको तुलनामा यसपटक भदौमा विद्युत् निर्यात आम्दानी ३८ करोड २७ लाख ३५ हजार ४ सय ३५ रुपैयाँले बढेको छ ।

भोटेकोशी बाढीका कारण राष्ट्रिय विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रणालीबाट बाहिरिएको अवस्थामा समेत निर्यात व्यापार बढ्नु महत्वपूर्ण उपलब्धि भएको मन्त्री श्रेष्ठको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*