छपेली– माझखण्ड केबुलकार निर्माणको आज शिलान्यास हुदै

काठमाडौँ । ललितपुरस्थित छपेली– माझखण्ड केबुलकार र पर्यटन परियोजनाको निर्माण कार्य अगाडि बढ्ने भएको छ । काठमाडौबाट हेटौंडा जाने कान्ति लोकपथमा पर्ने छपेलीबाट माझखण्डसम्मको दुई दशमलव आठ किमी लामो केबुलकार निर्माण हुने भएको हो ।
डेस्टिनेसन माझखण्ड प्रालिले निर्माण गर्न लागेको केबुलकारको आज सोमबार पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले बटम स्टेसन छपेलीमा शिलान्यास गर्ने कार्यक्रम रहेको छ । यो केबुलकार नेपालकै पहिलो युरो स्ट्यान्डर्ड सर्टिफाइड हुने पनि कम्पनीले जनाएको छ । छपेलीबाट सुरु हुने केबुलकारमा माझखण्डसम्मको दुई दशमलव आठ किमीको यात्रा विनाटावरको स्टेसन टु स्टेसन हुने कम्पनीका अध्यक्ष गोपाल सञ्जेलले बताए ।
उनका अनुसार केबुलकारको टप स्टेसन माझखण्ड एक हजार सात सय ८६ मिटर उचाइमा रहेको छ । जहाँबाट हिमाल, पहाड र तराई मधेशको वीरगञ्जसम्म दृश्य एकैसाथ अवलोकन गर्न सकिन्छ । माझखण्डभन्दा करिब पाँच किमीमाथि रमितेबाट सगरमाथाको रेञ्ज, तराई मधेश र काठमाडौ उपत्यका समेत एकैस्थलबाट लोभलाग्दो दृश्यावलोकन गर्न सकिन्छ । रमिते अति नै दुर्लभ भूस्थल हो ।
सञ्जेलले भने, ‘माझखण्ड केबल कारले नेचर, कल्बर र एडभेन्चरको संयोजनसहित पर्यटक र तीर्थयात्रीहरुका लागि एक अद्वितीय प्याकेज सिर्जना गर्नेछ । चाहे तपाई शान्ति, आध्यात्मिकता वा उत्साह खोज्नुहोस्, माझखण्ड तपाईंको उत्तम गन्तव्य बन्छ । महारुदेश्वर महादेव, विश्वकै ठूलो थाका (७०÷६० मिटर) प्रदर्शनस्थल तथा बौद्ध गुम्बा र बिहारसहितको धार्मिक धाम पनि रहेको हुँदा पर्यटन प्रवद्र्धनका लागि यो केबुलकार निर्माण थालिएको कम्पनी सञ्चालक डोलकेशर दाहालले बताए ।
उनका अनुसार सुविधा सम्पन्न होटेल, रेस्टुरेन्ट, फनपार्क, जीपलाइनसहितको पर्यटन प्याकेज लिएर डेस्टिनेसन माझखण्ड कम्पनीले काम थालेको हो । जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी, सरकारी निकायसहित सुरक्षा निकाय समेतको सहयोग र समन्वयमा काम अघि बढेकाले निर्माणको अबको चरण डेढ वर्षभित्र काम सक्ने गरी दूत गतिमा अघि बढ्ने पनि उनले बताए ।
यो केबुलकार निर्माण भएर सञ्चालनमा आउँदा ललितपुर जिल्लाको मात्र नभई समग्र मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र आर्थिक समृद्धिको कोशेढुङ्गा बन्ने अपेक्षा गरिएको छ । पर्यटन प्रवद्र्धन, रोजगारसँगै स्वरोजगार सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि छपेली– माझखण्ड केबुलकार उदाहरण बन्ने विश्वास गरिएको
छ ।













