ट्रम्पद्वारा अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध, नेतान्याहूको समर्थनमा कडा निर्णय

२५ माघ २०८१, शुक्रबार ११:०४

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) माथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको अमेरिका भ्रमणकै क्रममा यो निर्णय सार्वजनिक गरिएको हो।

आईसीसीले गाजा क्षेत्रमा इजरायली सेनाले गरेको सैन्य कारबाहीलाई लिएर युद्ध अपराधको आरोपमा सन् २०२३ को अक्टोबरमा नेतान्याहू र पूर्व रक्षामन्त्री योआव गालान्टविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। यस घटनामा बालबालिकासहित हजारौं प्यालेस्टिनीको मृत्यु भएको थियो।

ट्रम्पको कार्यकारी आदेशमा आईसीसीले अनुचित र आधारहीन कदम चालेको आरोप लगाउँदै यसको क्षेत्राधिकार अमेरिका र इजरायल दुवैमा मान्य नभएको स्पष्ट गरिएको छ। ट्रम्पको यो निर्णयलाई नेतान्याहूको समर्थनमा अमेरिकाले इजरायलको पक्षमा कडा सन्देश दिन खोजेको रूपमा हेरिएको छ।

आईसीसीको सदस्यता विश्वका १२४ देशले स्वीकार गरेका छन्। तर अमेरिका, इजरायल, रुस र चीनजस्ता प्रमुख शक्तिशाली देशहरूले यसलाई मान्यता दिएका छैनन्।

ट्रम्पको आदेशले अन्तर्राष्ट्रिय समुदायमा विवाद उत्पन्न गर्ने सम्भावना रहेको विश्लेषण गरिएको छ। नेतान्याहूले भने यस कदमको खुलेर समर्थन गर्दै ट्रम्पको निर्णयले इजरायलको राष्ट्रिय सुरक्षालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*