भिजिट भिसामा ‘सेटिङ’ गरी कुवेत पठाएको आरोपमा अध्यागमन अधिकृतमाथि छानबिन

काठमाडौं । जापानमा बस्ने एक व्यक्तिमार्फत भिजिट भिसामा ‘सेटिङ’ गरी यात्रुलाई कुवेत पठाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका एक अधिकृतमाथि छानबिन सुरु भएको छ ।
अध्यागमन अधिकृत चेतबहादुर सिजुवाल सेजुवालले श्रम स्वीकृतिबिनै एक यात्रुलाई प्रस्थान अनुमति दिएको खुलेपछि उनलाई जिम्मेवारीबाट हटाएर छानबिन अघि बढाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
ती अधिकृतले यात्रुलाई करिब २० मिनेट रोकेर जापानमा रहेका एक व्यक्तिसँग फोनमा कुराकानी गरेपछि प्रस्थान अनुमति दिएका थिए । प्रारम्भिक छानबिनका क्रममा उनीहरूबीच आर्थिक लेनदेनसमेत भएको देखिएको विभागले जनाएको छ ।
विभागका अनुसार नेपाली पोर्ट प्रणाली र विमानस्थलको सीसीटीभी फुटेज अध्ययन गर्दा ती यात्रु बिहान करिब ६ः३० बजे अध्यागमन क्षेत्रमा प्रवेश गरेको देखिएको छ । श्रम स्वीकृति नभएको अवस्थामा उनी अध्यागमन डेस्कमा करिब ३० मिनेट बसेर कुराकानी गरेको र तेस्रो व्यक्तिसँग सम्पर्क गरेको पनि अनुसन्धानबाट खुलेको छ ।
त्यसपछि बिहान करिब ७ः१० बजे यात्रुलाई प्रस्थान अनुमति दिइएको विभागले जनाएको छ । तर, वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिसम्बन्धी प्रणालीबाट प्राप्त विवरणअनुसार यात्रु उडिसकेपछि मात्रै उनको श्रम स्वीकृतिको प्रक्रिया अघि बढाइएको थियो ।
विभागले सार्वजनिक गरेको विवरणमा भनिएको छ, ‘यसबाट यात्रुलाई प्रस्थान अनुमति दिइएको समयमा निजको श्रम स्वीकृति प्रक्रिया पूरा नभएको प्रारम्भिक रूपमा देखिएको छ।’
अनुसन्धानका क्रममा अधिकृतको मोबाइलसमेत जफत गरिएको छ । प्रारम्भिक छानबिनमा आर्थिक कारोबार भएको र एक आफन्तको खातामा रकम जम्मा गर्न लगाइएको विवरणसमेत खुलेको विभागले जनाएको छ ।










