ब्रोकर कम्पनीको खाताबाटै अर्बौ रुपैयाँको शेयर कारोबार, निषेधाज्ञादेखि यताको कारोबार शंकाको घेरामा

४ आश्विन २०७८, सोमबार १०:२०

काठमाडौं । पछिल्लो छ महिना नेपाली शेयर बजारमा धेरै ठूलो चमक आयो शेयर बजारमा आएको चमकका कारण लाखौं मानिसहरु शेयर कारोबारतर्फ आकर्षित समेत भएका छन् । दैनिक २२ अर्ब रुपैयाँसम्मको खरिद बिक्री, करोडौं कित्ता शेयर किनबेच, शेयर बजारमा निकै ठूलो उछाल आयो ।

शेयर बजारमा आएको यो उछाल नेपाली अर्थतन्त्रले सुईकोसम्म पाएन । कारण शेयर बजारमा भएको खरिद बिक्री बैंकिङ च्यानलसम्म पुग्नै नपाई ब्रोकर कम्पनीको एकाउन्टमा मात्रै सीमित गरायो । बाहिरबाट हेर्दा अर्बौं रुपैयाँको कारोबार भएको थियो । तर, अर्थतन्त्रमा त्यसको असर सामान्य मात्रै थियो । नेपाल सरकारले पाउने राजश्व भटाभट खातामा जम्मा भइरहेको थियो । ब्रोकर कम्पनीहरुले पाउने कमिशन भटाभट बुझिरहेका थिए । ब्रोकर कम्पनीमा अर्बौ रुपैयाँको निक्षेप थुप्रिएको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्ड समेत यसबारे बेखवर जस्तै थियो । नेप्से आज नयाँ रेडर्क राख्छ कि राख्दैन भनेर तथ्याङ्क मात्रै हेरिरहेको थियो ।

लगानीकर्ताहरुले खरिद बिक्री गरेको अर्बौ रुपैयाँको शेयर कारोबार बैंकसम्म नपुगेका कारण अहिले बैंकमा चर्को तरलता हाहाकार मच्चिएको हो । नेपाल धितोपत्र बोर्ड सम्बद्ध स्रोतले अहिले आएको समस्या नयाँ खालको समस्या भएको जनाएको छ । उच्च स्रोतले भन्यो, ‘प्रत्येक कारोबार बैंकमार्फत भुक्तानी भएकै हुनुपर्दछ, ब्रोकर कम्पनी आफैले लगानीकर्ताको शेयर बिक्री बापतको रकमबाट शेयर कारोबार गराएको भए त्यसले त भयावह रुप आउन सक्छ ।’

पछिल्लो समय नेपाली शेयर बजारमा चम्किनु र बेलुन फुटेजसरी क्र्यासतर्फ अघि बढ्नुमा ब्रोकर कम्पनीहरु आफैले लगानीकर्ताहरुको निक्षेप राखेर कारोबार गराएको घट्ना मुख्य रुपमा जिम्मेवार हुनसक्ने स्रोतको दावी छ । यद्यपि सो सम्बन्धमभा स्वतन्त्र छानविन भइसकेको छैन ।

लगानीकर्ताहरुसँग एक वर्ष अघि एक लाख रुपैयाँको शेयर कैयौं गुणा बढि भइसकेको थियो । सोही शेयर बिक्री गरेर ब्रोकर कम्पनीको खातामा ब्यालेन्स राखेर शेयर खरिद बिक्री गरेका कारण औपचारिक च्यानल बैंकसम्म रकम पुग्न पाएन । ब्रोकर कम्पनीहरुको पैसा ब्रोकर कम्पनीले आफ्नै खातामा राखेर आफै बैंक झै कारोबार गराएकोले बैंकहरुमा अहिले तरलताको चर्को अभाव र हाहाकार मच्चिएको विश्वास गरिएको छ ।

स्रोतका अनुसार पछिल्लो छ महिनामा अर्बौ रुपैयाँ लगानीकर्ताको खातामा जम्मा नभई ब्रोकरबाटै पुनः शेयर खरिद गरिएको थियो । पछिल्लो समय लगातार शेयर बजार घट्ने क्रममा रहेको छ । केही लगानीकर्ताहरु अर्थमन्त्री र गभर्नरको राजिनामा माग गर्दै आन्दोलनमा छन् ।

शेयर कारोबार राफसाफ गर्न टी प्लस २ दिनको समय सीमा दिएको भएपनि लकडाउनको समयमा ब्रोकर कम्पनीहरुले शेयर कारोबारको राफसाफ नगरी ब्रोकर कम्पनीको खातामा आएको शेयर बिक्री बापतको रकमबाट पुनः शेयर खरिद गर्ने कार्य तीव्र गतिमा सञ्चालन भएको थियो । उक्त कार्य ब्रोकर कम्पनीहरुले नियतबश भन्दा पनि सजिलोको लागि गरेका थिए । कैयौ ब्रोकर कम्पनीहरुले लगानीकर्तालाई एक महिनसम्म पनि रकम फिर्ता नदिएर मौज्दात रहेको रकमबाट पुनः शेयर खरिद गर्न दवाव समेत दिने गरेका थिए । सोही कारण उत्पन्न परिणाम गम्भिर र घातक रुपमा देखा परेको अनुमान गरिएपनि यसको स्वतन्त्र छानविन तथा अनुसन्धान गरेर दीर्घकालिन रुपमा समस्या समाधान गर्नुपर्ने देखिएको सेबोन सम्बद्ध उच्च अधिकारीले बीमापोष्टलाई जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*