युक्रेन युद्ध अन्त्यका लागि अमेरिका र रुसबीच वार्ता सुरु

काठमाडौँ । युक्रेन युद्ध अन्त्यका लागि अमेरिका र रुसबीच कूटनीतिक वार्ता सुरु भएको छ। रुसका विदेशमन्त्री सेर्गेई लाभरोभ र भ्लादिमिर पुटिनका मुख्य विदेश नीति सल्लाहकार युरी उशाकोभले मंगलबार साउदी अरेबियामा अमेरिकी कूटनीतिज्ञहरूसँग भेटवार्ता गरेका हुन् ।
अनुभवी कूटनीतिज्ञ मानिने लाभरोभले २० वर्षभन्दा लामो समयदेखि रुसी विदेश मन्त्रालयको नेतृत्व गर्दै आएका छन् भने उशाकोभले एक दशकभन्दा बढी समयदेखि पुटिनका विश्वासिला सल्लाहकारको भूमिकामा रहेका छन्। पुटिनको पहिलो राष्ट्रपतिकालमा अमेरिकामा रुसी राजदूतको रूपमा काम गरेका उशाकोभको यो वार्तामा सहभागिताले मस्कोको कूटनीतिक सक्रियता बढेको संकेत गरेको छ।
हालको वार्ता यद्यपि शान्ति सम्झौतामा केन्द्रित नभई आगामी ट्रम्प–पुटिन शिखर सम्मेलनको तयारीमा केन्द्रीत रहेको बताइए पनि यो पहलले मस्कोको नीतिमा परिवर्तनको सङ्केत दिएको छ। पछिल्ला केही वर्षयता राष्ट्रिय सुरक्षासम्बन्धी निर्णयहरूमा रुसी कूटनीतिज्ञहरूको भूमिका घटाइएको थियो। तर, लाभरोभ र उशाकोभको सहभागिताले रुसले युक्रेन युद्ध अन्त्यका लागि कूटनीतिक समाधान खोज्न थालेको संकेत गरेको विश्लेषकहरूले बताएका छन्।
युक्रेनमा जारी द्वन्द्वले अन्तर्राष्ट्रिय स्तरमा ऊर्जा आपूर्ति संकटदेखि खाद्यान्न अभावसम्मका समस्याहरू सिर्जना गरिरहेको अवस्थामा सुरु भएको यो वार्तालाई विश्वभरि चासोका साथ हेरिएको छ। यद्यपि रुसले आफ्नो सर्तमा मात्र युद्ध अन्त्य गर्ने तयारी गरिरहेको अनुमान गरिएको छ।
यसअघि, अमेरिकाले रुसमाथि कडा प्रतिबन्ध लगाउँदै युक्रेनलाई सैन्य सहयोग प्रदान गरेको थियो। तर, पछिल्लो कूटनीतिक पहलले दुई महाशक्तिबीचको सम्बन्धमा सुधार आउने आशा गरिएको छ। वार्ताको थप विवरणहरू भने सार्वजनिक भएका छैनन्।













