पाथीभरा केबलकार विरोधमा काठमाडौं केन्द्रित आन्दोलन घोषणा

१६ फाल्गुन २०८१, शुक्रबार १२:४८

काठमाडौं । पाथीभरा (मुक्कुमलुङ) केबलकारको विरोध गर्दै आएको ‘नो केबलकार’ पक्षले आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ। मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनका नयाँ कार्यक्रमहरू सार्वजनिक गरेको हो।

संघर्ष समितिले फागुन १७ गते कोशी प्रदेशका सबै जिल्लामा प्रदर्शन गर्ने जनाएको छ। त्यस्तै, मधेश प्रदेशमा पनि जनप्रदर्शन र विरोध सभा आयोजना गरिनेछ। फागुन १८ गते फुङलिङ घटनाबारे अन्तर्राष्ट्रिय तहमा जानकारी गराउन ‘ग्लोबल जूम’ बैठक आयोजना गर्ने तयारी गरिएको छ।

फागुन २१ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णयसमेत संघर्ष समितिले गरेको छ। सरकारको ध्यानाकर्षण गराउन र आम समुदायलाई सचेत गराउन काठमाडौंमा विरोध कार्यक्रम गर्न लागिएको बताइएको छ। साथै, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख विरुद्ध सरकार तथा संयुक्त राष्ट्रसंघका निकायमा उजुरी दिने योजना रहेको संघर्ष समितिले जनाएको छ।

संघर्ष समितिका गोविन्द याङ्‌गछुमका अनुसार सरकारले मुक्कुमलुङ संरक्षकहरूलाई जबर्जस्ती हिरासतमा लिई दमन गरेको भन्दै थप संघर्षका कार्यक्रम अघि सारिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*