पाथीभरा केवलकार विवाद: वार्तामार्फत समाधान खोज्न सरकारको आह्वान

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणलाई लिएर जारी विवाद समाधान गर्न सरकार वार्ता प्रक्रियामा रहेको छ । गृहमन्त्री रमेश लेखकले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गर्दै शान्तिपूर्ण संवाद नै समस्याको दीर्घकालीन समाधान हुने बताएका छन् ।
राष्ट्रिय सभाको बैठकमा सांसदहरूका जिज्ञासामा जवाफ दिने क्रममा गृहमन्त्री लेखकले सरकारले उच्च संयमता अपनाउँदै शान्ति सुरक्षा कायम गरिरहेको उल्लेख गरे । उनले गृह मन्त्रालयले वार्ता पहल गरिसकेको भन्दै संवाद प्रक्रियालाई अझ प्रभावकारी बनाइने जानकारी दिए ।
गृहमन्त्रीका अनुसार केवलकार निर्माणसँगै उत्पन्न सामाजिक, सांस्कृतिक र धार्मिक विषयलाई सम्बोधन गर्न सरकार संवेदनशील छ । उनले सम्बन्धित पक्षहरूसँग संवादका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन भइसकेको जानकारी दिए । “पटक–पटक संवाद भइरहेको छ, तर केही अवरोध देखिएको छ,” उनले भने, “तर वार्ता समितिले फागुन १२ गते फेरि वार्ताको आह्वान गरेको छ ।”
सरकार केवलकार निर्माण प्रक्रियालाई अगाडि बढाउने क्रममा स्थानीय समुदायका मागलाई बेवास्ता नगर्ने बताउँदै गृहमन्त्री लेखकले सन् २०१८ (२०७५ साल पुस १६) मै मन्त्रिपरिषद्ले वन क्षेत्र प्रयोग र रुख हटाउने स्वीकृति दिइसकेको उल्लेख गरे ।













