नेपाली बजारमा एलईभी ०१ इलेक्ट्रिक एसयूभी, उत्कृष्ट रेञ्ज र उन्नत सुरक्षासहित उपलब्ध हुँदै

काठमाडौं । नेपाली अटो बजारमा चिनियाँ कम्पनी एलएस अटोको इलेक्ट्रिक एसयूभी एलईभी ०१ भित्रिएको छ। नेक्सन वेन्चर प्रा.लि.ले पहिलो पटक नेपालमा ल्याएको यो मोडेल दुई भेरियन्ट- स्ट्याण्डर्ड र कम्फर्ट एडिसनमा उपलब्ध छ।
नयाँ प्रविधिसहितको यो गाडी गत महिना नेपाल भित्रिएपछि कम्पनीले अब फागुन महिनाभित्र आधिकारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ। एलईभी ०१ मा ६७.१ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले ९९ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटरमार्फत ३२० न्यूटन मिटरको टर्क उत्पन्न गर्छ। नेपालका सडकहरूको आवश्यकताअनुसार यो गाडीको ग्राउण्ड क्लियरेन्स २१० एमएम छ।
एलईभी ०१ मा ०.२६८ ड्र्याग कोफिसीयन्ट रहेको छ, जुन इलेक्ट्रिक एसयूभीहरूमा तुलनात्मक रूपमा कम हो। एक पटकको पूर्ण चार्जपछि यो गाडीले ५०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्ने दाबी गरिएको छ।
डिजाइनका हिसाबले यस मोडेलमा होरिजेन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप, सस्पेन्डेड टेललाइट, लेदरेट स्टेरिङ ह्वील, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट र लग्जरी केबिन स्पेसजस्ता विशेषताहरू समावेश छन्।
नेपालमा स्ट्याण्डर्ड एडिसनको मूल्य ६१ लाख ९५ हजार रुपैयाँ र कम्फर्ट एडिसनको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ।













