पर्यटन विभागका निर्देशक यादवमाथि ९७ लाखको अवैध सम्पत्ति मुद्दा, पत्नीसमेत प्रतिवादी

काठमाडौँ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभाग भृकुटीमण्डप काठमाडौँका निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन प्रकरणमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार २०६६ साल जेठ २४ गतेदेखि २०७९ साल साउन २९ गतेसम्मको अवधिमा गरिएको अनुसन्धानबाट यादवले सो अवधिमा २ करोड ६८ लाख १८ हजार ९०० रुपैयाँ ७२ पैसा बराबरको आय आर्जन गरेको देखिएको छ । यसमा पारिश्रमिक, दैनिक भ्रमण भत्ता, जीवन बीमा रकम, हिमाल आरोहण सम्पर्क अधिकृतको भत्ता, आंशिक समय परामर्श सेवाबाट प्राप्त रकम, घर बहाल, बैठक भत्ता, कर्मचारी सञ्चय कोष तथा बैंक कर्जा, कृषि आय, जग्गा बिक्री, बैंक ब्याज तथा कम्पनीको शेयर बिक्रीबाट आएको रकम समावेश छन् ।
यद्यपि, सोही अवधिमा यादवले घरजग्गा खरिद तथा रजिष्ट्रेशन, घर निर्माण खर्च, सञ्चय कोष र बैंक कर्जाको साँवा–ब्याज भुक्तानी, शेयर खरिद, शैक्षिक खर्च, जीवन बीमा प्रिमियम तथा बैंक खातामा रहेको मौज्दातसहित ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँ ९१ पैसा बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । यसरी खर्च तथा लगानी र वैध आयबीचको अन्तर ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा रहेको र सो रकमको वैधानिक स्रोत पुष्टि गर्न नसकिएको आयोगको दाबी छ ।
आयोगका अनुसार यादवले सार्वजनिक सेवाको पदमा बहाल रहँदा पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गर्दै अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको प्रमाणित भएको छ । सोही कारण भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिमको कसुरमा बिगो कायम गरी सोही ऐनको दफा २०(२) अनुसार कैद सजाय र बिगो बराबरको जरिवाना साथै गैरकानूनी सम्पत्ति जफत गर्न मागदाबी गरिएको हो ।
त्यसैगरी, उनले वार्षिक सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति लुकाई झुट्टा विवरण पेश गरेको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(२) बमोजिमको कसुरमा समेत सजाय माग गरिएको छ ।













