सरकारसँग मल किन्न पुग्ने पैसा छैन: कृषिमन्त्री अधिकारी
२९ श्रावण २०८२, बिहीबार १८:०३

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले अनुदानको मल खरिदका लागि पर्याप्त बजेट नहुँदा माग अनुसार मल उपलब्ध गराउन कठिनाइ भएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले युरिया मलमा ८२ प्रतिशत, डीएपीमा ८४ प्रतिशत र पोटास मलमा ४९ प्रतिशत अनुदान दिइएको भए पनि उपलब्ध बजेटले आवश्यक मल आपूर्ति गर्न पर्याप्त नभएको बताए।
उनका अनुसार वार्षिक १३ लाख टन मलको माग भए पनि चालू आर्थिक वर्षमा मन्त्रालयले ६ लाख टन मात्रै आपूर्ति गर्ने योजना बनाएको छ। खरिद गरी ल्याइने ९० प्रतिशत मल वैज्ञानिक आधारमा बढी खपत हुने क्षेत्रका किसानलाई प्रदेश सरकारमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको उनले बताएका छन्।













