बीमाका शर्त राम्रोसँग बुझेर बीमा गर्दा दावीमा समस्या आउँदैनः सीईओ गौतम

६ भाद्र २०८२, शुक्रबार १५:४०

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल गौतमले बीमितहरुले बीमा पोलिसीका शर्तहरुबारे राम्रोसँग बुझेर बीमा गरेको खण्डमा दावी भुक्तानीमा कुनै समस्या नहुने बताएका छन् ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सञ्चालित नाडा अटो शोद्वारा आयोजना गरीएको नेपालमा सार्वजनिक यातायातः समस्या र समाधान विषयको प्यानल डिसकसनलाई सम्बोधन गर्दै सीईओ गौतमले आम नागरिकहरुले बीमा शर्तबारे राम्रोसँग बुझेको खण्डमा बीमा दावी लगायतका समस्या नदोहोरिने बताएका हुन् ।

‘देशका विभिन्न ठाउँहरुमा मोटर दुर्घटना हुन्छन् । त्यसको दावी त बीमा कम्पनीमा पर्छ । तर, दावी भुक्तानीको विषय सम्बन्धित कम्पनीको मात्र नभएर अन्य थुप्रै कुरामा ध्यान दिनु पर्छ ।’ उनले भने, ‘घटनाको प्रक्रिया के छ ?, त्यो घटनामा बीमा दावीको शर्तमा पर्छकी पर्दैन ? अनी नेपाल प्रहरीको रिपोर्ट, अस्पतालको रिपोर्ट र सर्भेयरको रिपोर्ट आएपछि मात्र दावी भुक्तानी हुन्छ।’

‘नेपालमा बीमा दावी भुक्तानीमा निकै समस्या तथा ढिलासुस्ती छ । त्यो म पनि मान्छु । तर, दावी भन्दा बाहिरका कुराहरुमा समेत दावी माग गरी बीमितहरुले कतिपय अवस्था तथ्यहिन कुराहरु पनि फैलाउने गरिदिएको छ ।’ उनले थपे, ‘तपाई हामीले यस्ता कुराहरुबाट समेत हुन आवश्यक छ ।’

सीईओ गौतमले युरोपियन देशको तुलनामा नेपाली बीमा बजार निकै पछाडी रहेको समेत प्रतिक्रिया दिएका छन् । उनले भने, ‘बीमा भनेको सबैभन्दा बढी प्रतिस्पर्धा भएको व्यवसाय हो । त्यसैले बीमा बजारमा ग्राहकहरुलाई सन्तुष्ट बनाउनु पनि बीमा कम्पनीहरुको लागि निकै महत्वपूर्ण कुरा रहेको छ ।’

त्यस्तै, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले यातायात समस्या समाधानको लागि सरकार निकै सक्रिय रुपमा लागिरहेको बताए । उनले भने, ‘हामीले यातायात तथा पुर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखि अघि बढेका छौ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*