बैंकहरुले शेयर बजारबाट कमाए ९ अर्ब ३८ करोडः ग्लोबल र नबिलको धेरै, ग्रोथमा सरकारी बैंक अघि

काठमाडौँ । वर्ष दिनको अवधिमा बैंकहरुले पुँजी बजारबाट ९ अर्ब रुपैयाँमाथिको आम्दानी गरेका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८१/०८२ मा शेयर बजारबाट ९ अर्ब ३८ करोड ३२ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेका हुन् ।
बैंकहरुले गरेको आम्दानी अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ५३.६० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुले शेयर बजारबाट ६ अर्ब ११ करोड १ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेका थिए ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको तथ्याङ्क अनुसार शेयर बजारबाट सबैभन्दा धेरै आम्दानी गर्ने बैंकको सूचीमा ग्लोबल आइएमई बैंक रहेको छ । यस अवधिमा शेयर बजारबाट बैंकले ९१ करोड ६८ लाख ९३ हजार रुपैयाँ आम्दानी आर्जन गर्ने सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५७.८५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ५८ करोड ८ लाख ५३ हजार रुपैयाँ शेयर बजारबाट आम्दानी गरेका थिए ।
बजारबाट सर्वाधिक आम्दानी गर्ने दोस्रो नम्बरमा नबिल बैंकले ७६ करोड ८१ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.१३ प्रतिशतले बढी हो ।
पुँजी बजारबाट हुने आम्दानी सर्वाधिक वृद्धि गर्नेमा भने सरकारी बैंकहरु अगाडी देखिएका छन् । वर्ष दिनको अवधिमा कृषि विकास बैंकको शेयर बजारबाट हुने आम्दानी ८८७.१७ प्रतिशतले बढेर ५७ करोड ८४ लाख १६ हजार रुपैयाँ पुगेको छ ।

साथै, समीक्षा अवधिमा शेयर बजारबाट हुने आम्दानी राष्ट्रिय वाणिज्य बैंकको १५३.९७ प्रतिशतले बढेर १२ करोड ९४ लाख ९९ हजार र नेपाल बैंकको ७८.२० प्रतिशतले बढेर २० करोड २१ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।
यता, नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर बजारबाट हुने आम्दानी ६३ प्रतिशतले बढेर ७६ करोड ६० लाख, स्टान्र्डड चार्टड बैंकको ६.०८ प्रतिशतले बढेर ७२ करोड १० लाख रुपैयाँ, हिमालयन बैंकको ४९.९५ प्रतिशतले बढेर ६३ करोड २५ लाख र सानिमा बैंकको १४.६१ प्रतिशतले बढेर ५९ करोड ३३ लाख रुपैयाँ पुगेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख गरेको छ ।
साथै, प्रभु बैंकले ५४ करोड २६ लाख, एभरेष्ट बैंकले ४९ कोड ९३ लाख, सिद्धार्थ बैंकले ४२ करोड ४१ लाख, कुमारी बैंकले ४० करोड ९३ लाख, एनएमबि बैंकले ३६ करोड ५ लाख, माछापुच्छ्रे बैंकले ३३ करोड २१ लाख, सिटिजन्स बैंकले ३० करोड २७ लाख, नेपाल एसबिआई बैंकले २८ करोड ८ लाख, प्राइम बैंकले २४ करोड ३ लाख र एनआईसी एशिया बैंकले १६ करोड २७ लाख रुपैयाँ शेयर बजारबाट आम्दानी गरेका छन् ।
नियामक निकाय नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको शेयर बिक्रीसम्बन्धी व्यवस्था परिमार्जन गरेपछि बैंकहरुको लगानी आम्दानीमा उल्लेखनीय परिवर्तन आएको छ । नयाँ प्रावधानअनुसार बैंकहरुले एक वर्ष पूरा भइसकेको लगानीबाट प्राथमिक पुँजीको २० प्रतिशतसम्म शेयर बिक्री गर्न सक्ने सुविधा पाएका छन् ।
यसअघि यो सीमा मात्र १ प्रतिशत थियो जसका कारण बैंकहरुले आफ्ना लगानीलाई ठूला परिमाणमा नगदमा परिणत गर्न पाउँदैनथे । मौद्रिक नीतिबाट ल्याइएको यस खुकुलोपनले बैंकहरुलाई आवश्यकताअनुसार शेयर लगानी फिर्ता लिएर पुँजी व्यवस्थापन गर्न सहज बनाएको छ ।
यस्तो प्रावधानले गर्दा बैंकहरुको आम्दानी विवरणमा देखिने ‘नेट ट्रेडिङ इनकम’ सूचकमा सकारात्मक असर परेको छ । यस सूचकमा शेयर बिक्रीबाट प्राप्त हुने नाफा मात्र नभई, डलरसहित अन्य विदेशी मुद्राको कारोबारबाट आएको आम्दानी पनि समेटिन्छ । तर व्यावहारिक हिसाबले हेर्दा शेयर कारोबारबाट हुने नाफाको हिस्सा बढी हुने भएकाले यो सूचकलाई मुख्यतया शेयरमा गरिएको लगानीको परिणामका रूपमा बुझिन्छ ।












