नेप्सेमा दोहोरो अंकको गिरावट, १२ वटा उपसूचक राताम्मे

१ मंसिर २०८३, मंगलवार १५:०४

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। पछिल्लो समय उतारचढाव देखिँदै आएको शेयर बजारमा आज पुनः गिरावट आएको हो।

बजार खुलेदेखि नै लगानीकर्ताको मनोबल कमजोर देखिँदा नेप्से परिसूचक दबाबमा परेको हो। खरिदकर्ताको तुलनामा बिक्रीकर्ता हाबी हुँदा बजारले बढ्ने गति लिन नसकेको हो। पछिल्लो समय बजारमा देखिएको अनिश्चितता, लगानीकर्ताको मनोविज्ञान तथा खरिदबिक्रीको असन्तुलनले बजारको गतिलाई प्रभावित पारिरहेको छ।

तिहारपछि कात्तिक २७ गते शुक्रबार खुलेको शेयरबजार त्यसदिन ६.४४ अंकले घटेको थियो भने जम्मा ३ अर्ब ५ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको थियो। त्यसपछि पुनः तीन दिनको बिदापछि आज खुलेको शेयर बजारले पनि गति लिन नसकेको हो।

आज नेप्से परिसूचक १२.७९ अंकले घटेर २६३६.१० को विन्दुमा कायम हुन पुगेको छ। आज ३५३ सूचीकृत कम्पनीहरुको ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यसदिन १८५ कम्पनीहरुको शेयरमूल्य राताम्मे हुँदा ८६ कम्पनीहरुको शेयरमूल्य भने बढेको छ। आज म्युचुअल फण्ड बाहेक सबै १२ वटै उपसूचक राताम्मे बनेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*