श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे सरकारी कोष दुरुपयोग आरोपमा पक्राउ

६ भाद्र २०८२, शुक्रबार १६:२७

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघेलाई सरकारी कोष दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ। उनीमाथि लागेको आरोप राष्ट्रपति हुँदा गरेका विदेश भ्रमणसँग सम्बन्धित रहेको श्रीलंकाली प्रहरीले जनाएको छ।

सन् २०२३ मा न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभामा सहभागी भई फर्कने क्रममा उनले सरकारी खर्चमा व्यक्तिगत प्रयोजनका लागि लन्डनमा बसाइ गरेको आरोप लागेको हो। उनी आफ्नी श्रीमतीसँगै केही दिन लन्डनमा बसेका थिए।

यस घटनासँग सम्बन्धित फाइल आपराधिक अनुसन्धान विभाग (सीआईडी) मा पुगिसकेको छ भने विक्रमसिंघेलाई शुक्रबार राजधानी कोलम्बोस्थित मजिस्ट्रेट अदालतमा पेस गरिने भएको छ। यसअघि उनले सीआईडीमा उपस्थित भई बयान दिएका थिए।

तर, विक्रमसिंघेले आफूमाथि लगाइएका आरोपको खण्डन गरेका छन्। लन्डन बसाइका क्रममा आफूले सरकारी तथा कूटनीतिक महत्वका धेरै बैठकमा भाग लिएको उनको दाबी छ।

विक्रमसिंघे सन् २०२२ देखि २०२४ सम्म श्रीलंकाको राष्ट्रपति बनेका थिए। तत्कालीन राष्ट्रपति गोताबाया राजपक्षे आर्थिक संकटका बीच जनआन्दोलन चर्किएपछि देश छोडेर गएपछि उनले नेतृत्व सम्हालेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*