नेपाली सेनाले निर्माण गरेको आयोजनामा शतप्रतिशत प्रगति

८ भाद्र २०८२, आईतवार ०८:३५

काठमाडौं । रक्षा मन्त्रालयका अनुसार नेपाली सेनाको व्यवस्थापनमा सञ्चालन भइरहेका राष्ट्रिय प्राथमिकता प्राप्त सडक तथा पूर्वाधार आयोजनाले गत आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यअनुसार प्रगति हासिल गरेका छन्।

कोशी, कर्णाली, महाकाली करिडोर, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनासहितका योजनामा वार्षिक लक्ष्यअनुसार शतप्रतिशत काम पूरा भएको मन्त्रालयले जनाएको छ। यस्तै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, चुरे–तराई/मधेश संरक्षण र ‘बङ्कर टु व्यारेक’ कार्यक्रममा पनि निर्धारित लक्ष्य प्राप्ति भएको मन्त्रालयले जनाएको छ।

तर सबैभन्दा महत्वको राष्ट्रिय गौरव आयोजना मानिने काठमाडौँ–तराई/मधेश द्रुतमार्गमा भने वार्षिक लक्ष्य पुरा हुन सकेको छैन। गत आवमा यसको प्रगति ६७.५ प्रतिशतमा सीमित भएको हो। शुरूआती भाग (प्याकेज नं ११) मा जग्गा अधिग्रहण र प्रस्थान विन्दु तोक्ने विषयमा समस्या हुँदा प्रगति प्रभावित भएको मन्त्रालयले जनाएको छ।

कर्णाली करिडोरमा नयाँ सडक ट्र्याक निर्माण, पुल निर्माण र स्तरोन्नति गरिएको छ भने कोशी र महाकाली करिडोरमा समेत थप सडक विस्तार गरिएको छ। बेनीघाट–आरुघाट–लार्के सडकखण्डमा पनि नयाँ ट्र्याक निर्माण र सडक चौडा पार्ने काम भएको मन्त्रालयले जनाएको छ।

यस्ता कठिन भौगोलिक क्षेत्रमा सडक निर्माणमा संलग्न रहँदा हालसम्म १०८ सैनिकले वीरगति प्राप्त गरेका छन्। साथै विभिन्न आयोजनामा गैरसैनिक २४ जनाले पनि ज्यान गुमाएका छन्।

‘बङ्कर टु व्यारेक’ कार्यक्रमअन्तर्गत गत आवमा ७३ वटा संरचना निर्माण भएका छन् भने अझै करिब २ हजार संरचना बनाउन बाँकी छ। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्माणमा पनि गत आवमा शतप्रतिशत लक्ष्य पूरा भएको मन्त्रालयले जनाएको छ।

प्रकृति संरक्षणतर्फ सेनाले विभिन्न गस्ती, आकस्मिक छड्केलगायत गतिविधि सञ्चालन गर्दै आएको छ। यस क्रममा हालसम्म ११६ सैनिकले ज्यान गुमाएका छन्।

त्यस्तै गत आवमा रक्षा मन्त्रलायतर्फको बेरुजु ३ अर्ब ४५ करोड ८३ लाख ४० हजार रुपैयाँ रहेकोमा त्यसको ६१.३९ प्रतिशत बेरुजु फर्छ्यौट भएको मन्त्रलायले जनाएको छ। उक्त वर्ष ६० प्रतिशत बेरुजु फर्छ्यौट गर्ने लक्ष राखिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*