अर्थतन्त्रमा सुधारको संकेत: आर्थिक वृद्धिदर बढ्दा मुद्रास्फीति घट्यो, निर्यात र विप्रेषणमा उल्लेखनीय वृद्धि (पूर्णपाठसहित)

८ भाद्र २०८२, आईतवार १५:१३

काठमाडौँ ।  देशको अर्थतन्त्र विस्तारै लयमा फर्कि रहेको छ । अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक यात्रामा अघि बढी रहेको देखिएको हो ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग, बालुवाटारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथ्याङ्क सार्वजनिक गर्दै देशको आर्थिक तथा वित्तीय स्थितिबारे जानकारी दिएको छ। तथ्याङ्क अनुसार आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको ३.६७ प्रतिशत भन्दा बढी हो। वार्षिक औसत मुद्रास्फीति ४.०६ प्रतिशत रहँदा, अघिल्लो वर्षको ५.४४ प्रतिशतको तुलनामा घटेको देखिन्छ।

शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा रहेको छ, अघिल्लो वर्षको ५ खर्ब २ अर्ब ४९ करोडको तुलनामा उल्लेख्य वृद्धि भएको छ। आयात १३.३ प्रतिशतले वृद्धि भए पनि निर्यात ८१.८ प्रतिशतले बढेको देखिन्छ, अघिल्लो वर्ष आयात १.२ प्रतिशतले र निर्यात ३ प्रतिशतले घटेको थियो।

विप्रेषण आप्रवाहमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। नेपाली रुपैयाँमा १९.२ प्रतिशत र अमेरिकी डलरमा १६.३ प्रतिशतले बढेको विप्रेषण आप्रवाह २०८२ असारमा १ खर्ब ८९ अर्ब ११ करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड पुगेको छ, जुन १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्रिय बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १२.६ प्रतिशतले वृद्धि भई रु.७२ खर्ब ६४ अर्ब पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले वृद्धि भई ५४ खर्ब ९८ अर्ब पुगेको छ। मुलुकको मुद्राप्रदायमा पनि १२.५ प्रतिशतले वृद्धि देखिएको छ, अघिल्लो वर्षको १२.९ प्रतिशत वृद्धि सापेक्षमा स्थिर देखिन्छ।

समग्रमा, राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वृद्धिदरमा सुधार, निर्यात र विप्रेषणको उल्लेखनीय वृद्धि, तथा बैंकिङ क्षेत्रको सशक्त निक्षेप र कर्जा प्रवाहले अर्थतन्त्रमा स्थिरता र विकासको संकेत दिएको छ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Annual-data-of-2081.82

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*