सवा १७ खर्ब रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा उत्साह, एकै वर्षमा १९ प्रतिशतको वृद्धि

८ भाद्र २०८२, आईतवार १५:१७

काठमाडौं। आर्थिक वर्ष २०८१/८२ मा नेपाल भित्रिने रेमिट्यान्समा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित तथ्याङ्कअनुसार गत वर्ष असार मसान्तसम्म कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.२ प्रतिशत बढी हो।

अघिल्लो वर्ष रेमिट्यान्स वृद्धिदर १६.५ प्रतिशत रहेको थियो। तथ्याङ्कअनुसार, त्यसअघि १४ खर्ब ४५ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ रेमिट्यान्स आएको थियो भने त्योभन्दा अघि १२ खर्ब ४० अर्ब ६८ करोड ६४ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

मासिक औसत हिसाबले १ खर्ब ४३ अर्ब ६० लाख रुपैयाँ रेमिट्यान्स आउने गरेको छ। गत असारमा मात्रै १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्याङ्क छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले बढेको छ र यो रकम १२ अर्ब ६४ करोड अमेरिकी डलर पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*