लघुवित्तहरुको लाभांश वितरण गर्ने व्यवस्था संसोधन, कति प्रतिशतसम्म वितरण गर्न पाँउछन् ?

काठमाडौं । लघुवित्त संस्थाहरुको लाभांश वितरण गर्ने व्यवस्था संसोधन भएको छ। राष्ट्र बैंकले आज घ वर्गका संस्थाहरुको लागिएक सकुलर जारी गर्दै यस्तो व्यवस्था ल्याएको हो ।
लघुवित्त वित्तीय संस्था हरुले लाभांश घोषणा/वितरण गर्दा लाभांश वितरण पछिको पुँजीकोष अनुपात तथा पछिल्लो असार मसान्तको निष्कृय कर्जा अनुपातलाई आधार मानी २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् ।
यस अघि वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था संसोधन गर्दै लघुवित्तहरुले राष्ट्र बैंकको मापदण्ड अनुसार २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका हुन् ।
अब लघुवित्त वित्तीय संस्थाले दिने लाभांश निष्क्रिय कर्जामा भर पर्ने भएको छ । निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएका लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन सक्ने छन्।
त्यस्तै निष्क्रिय कर्जा ५ देखि १० प्रतिशतसम्म भएकाले २० प्रतिशतसम्म र १० देखि १५ प्रतिशतसम्म निष्क्रिय कर्जा हुनेले १५ प्रतिशतसम्म लाभांश दिन सक्ने व्यवस्था गरिएको छ ।
निष्क्रिय कर्जा १५ प्रतिशतभन्दा बढी भएकाले भने लाभांश वितरण गर्न नपाउने भएका छन् । पूँजीकोष अनुपात न्यूनतम ९ प्रतिशत कायम गरेकाले मात्रै नगद लाभांशको प्रस्ताव गर्न पाउने छन् ।
त्यस्तै तोकिएको चुक्ता पूँजी पुर्याउन नसकेका कम्पनीले कर प्रयोजनबाहेक नगद लाभांश दिन पाउने छैनन् तर बोनस सेयर दिन पाउने छन् ।
यसअघि लघुवित्त संस्थाले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्नुपरेको खण्डमा प्रस्तावित लाभांशको ५० प्रतिशत रकम साधारण जगेडा कोषमा र त्यसपछिको १५ प्रतिशत ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो । यहीं व्यवस्थाका कारण लघुवित्तहरुले १५ प्रतिशत बढी लाभांश दिन सकिरहेका थिएनन् ।













