विद्यालय शिक्षा विधेयकमा सहमति कार्यान्वयन नभएको भन्दै शिक्षक महासंघ आजदेखि आन्दोलनमा

९ भाद्र २०८२, सोमबार ११:१३

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक २०८० ले आफ्ना माग र अधिकारलाई सम्बोधन नगरेको भन्दै आज (भदौ ९) देखि देशव्यापी आन्दोलन सुरु गर्ने भएको छ ।

गत वैशाखमा एक महिनासम्म चलेको शिक्षक आन्दोलन सरकारसँग भएको ९ बुँदे सहमतिपछि स्थगित भएको थियो । तर, भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विद्यालय शिक्षा विधेयकमा ती सहमति प्रतिबिम्बित नभएकाले पुनः आन्दोलनमा जानु परेको महासंघको भनाइ छ।

महासंघले यसअघि २०७५, २०७८, २०८० र २०८१/८२ मा सरकारसँग भएका सहमति लागू गर्न माग गर्दै आएको छ। साथै अस्थायी शिक्षकका लागि ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला पदपूर्ति (हालको ६०–४० को सट्टा), आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमतिपत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बालकक्षा शिक्षकको सेवा व्यवस्थापन, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकलाई उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण नगर्नुपर्ने लगायतका मागहरू अघि सारेको छ।

आन्दोलनको पहिलो चरणमा आज प्रधानमन्त्री, शिक्षामन्त्री र प्रमुख दलका सचेतकलाई ध्यानाकर्षण गराइनेछ । भदौ ११ देखि २० सम्म राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लास्तरमा २ घण्टे धर्ना दिने कार्यक्रम छ भने, भदौ २१ देखि दोस्रो चरणको कडा आन्दोलनका रूपमा धर्ना, अवरोध र विरोध प्रदर्शन गर्ने तयारी गरिएको महासंघले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*