हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा, कोइला व्यवस्थापनपछि आजदेखि उत्पादन शुरु

काठमाडौँ । लामो समयदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग आजदेखि पुनः उत्पादनमा फर्किएको छ । उद्योगका निमित्त महाप्रबन्धक इञ्जिनियर रामबाबु साहका अनुसार, मेशिन मर्मत र आवश्यक कोइलाको व्यवस्था भएपछि उत्पादन प्रक्रिया पुनः सुरु गरिएको हो ।
गत वैशाखदेखि मेशिनमा समस्या देखिएपछि उद्योग पूर्णरूपमा बन्द भएको थियो । साहका अनुसार, उत्पादन सुरु गर्न करिब १ हजार टन कोइला भुक्तानीपश्चात गर्ने सर्तमा जुटाइएको छ ।
वि.सं. २०३३ मा स्थापना भएको हेटौँडा सिमेन्ट उद्योगले २०४३ सालदेखि व्यावसायिक रूपमा उत्पादन सुरु गरेको थियो । तर, आर्थिक चुनौती, पुरानो प्रविधि र बजार प्रतिस्पर्धाका कारण यो उद्योग पटक–पटक बन्द र सञ्चालनमा आउँदो चक्रमा पर्ने गरेको छ ।
उद्योगसँग धादिङ र मकवानपुरमा गरी चारवटा चुनढुङ्गा खानी रहेका छन् । यसअघि गत वैशाखमा पुनः सञ्चालनमा आउँदा करिब १ लाख बोरा सिमेन्ट उत्पादन गरिएको थियो ।













