४ खर्ब ३० अर्ब मूल्यको १ हजार रुपैयाँ नयाँ नोट छाप्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ मूल्यको नयाँ नोट छाप्ने प्रक्रिया अघि बढाएको छ । राष्ट्र बैंकले १ हजार रुपैयाँ मूल्यको ४३ करोड नयाँ नोट छाप्ने तयारी गरेको सहायक प्रवक्ता सुमन न्यौपानेले जानकारी दिए ।
उनका अनुसार, यद्यपि ठूलो संख्यामा नोट छापिने भए पनि बजारमा आवश्यकताको आधारमा मात्र वितरण हुनेछ ।
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकले डिजाइन, छपाई, आपूर्ति र वितरणसम्बन्धी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । इच्छुक कम्पनीहरूले सन् २०२५ अक्टोबर ९ सम्म राष्ट्र बैंकको थापाथली स्थित बैंकिङ विभागमा प्रस्ताव पेश गर्नुपर्नेछ । बोलपत्र शुल्क २० हजार रुपैयाँ, वा १४४ अमेरिकी डलर वा १२३ युरो, वा १०७ पाउन्ड निर्धारण गरिएको छ ।
बोलपत्र पेश गर्दा ६ करोड ४० लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।












