रविको मुद्दामा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन
११ भाद्र २०८२, बुधबार १३:३३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै परेको निवेदनमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले सुनुवाइ पूरा गरेको छ। लामिछानेको तर्फबाट उनकी पत्नी निकिता पौडेलले उच्च अदालतमा रिहाइको माग गर्दै रिट निवेदन दायर गरेकी थिइन्।
न्यायाधीश सागर विष्टको इजलासमा सुनुवाइ भएको उक्त निवेदनमा लामिछानेले बिगोबमोजिमको धरौटी बुझाएर रिहाइको माग गरेका थिए। सुनुवाइका क्रममा अदालतले मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ।
यसअघि जिल्ला अदालत रुपन्देहीले सोही प्रकृतिको निवेदनमा मागबमोजिमको आदेश दिन अस्वीकार गरेको थियो। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने विगत चार महिनादेखि थुनामा छन् र हाल उनी नख्खु कारागारमा राखिएका छन्।













