प्रधानमन्त्री ओलीको चीन भ्रमणमा ६ देशका नेता भेट्ने, द्विपक्षीय वार्ता समेटिने योजना

१३ भाद्र २०८२, शुक्रबार १५:०२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको अवसरमा ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई जानकारी दिँदै भदौ १४ गते चीन प्रस्थान गर्दै सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुनेछन्। यस क्रममा उनले चीनका राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपतिसँग भेटवार्ता गर्नेछन्।

साथै, उनले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग पनि अलग-अलग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको जानकारी गराए।

प्रधानमन्त्री ओलीले भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय सम्बन्धका साथै अन्य प्राथमिकताका विषयमा छलफल हुनेछ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने द्विपक्षीय वार्ताबारे उनले केही खुलाएनन्।  यसअघि भारत र चीनबीच भदौ ३ गते लिपुलेकबाट व्यापार पुनः सुचारु गर्ने सहमति भएपछि नेपालमा व्यापक आलोचना भएको थियो। प्रतिनिधिसभाका सांसदहरूले प्रधानमन्त्रीलाई चीन भ्रमणमा लिपुलेक मुद्दा उठाउन अनुरोध गरेका थिए।

प्रधानमन्त्री ओली चीन भ्रमणपछि भारत भ्रमणमा जाने कार्यक्रम बनाइसकेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*