प्रधानमन्त्री ओलीको चीन भ्रमणः लिपुलेकमा भएको व्यापार सम्झौतामा आपत्ति, सङ्ग्रहालय र धान उत्पादन क्षेत्रको अवलोकन

१५ भाद्र २०८२, आईतवार १२:४५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक पास हुँदै भारत र चीनबीच भएको व्यापार सम्झौताबारे नेपाल सरकारको आपत्ति रहेको स्पष्ट पारेका छन् ।

तियानजिनमा चीनका राष्ट्रपति सी चिनफिङसँग भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले लिपुलेक नेपालको भूभाग भएको भन्दै नेपाललाई बाइपास गरेर भएको सहमति अस्वीकार्य भएको बताएका हुन् ।

उनले नेपालको भूमिसम्मान र सीमा सार्वभौमिकतामा कुनै सम्झौता हुन नसक्ने भन्दै भारत–चीनबीचको बुझाइबारे आपत्ति पत्रसमेत दर्ता भएको जानकारी गराएको बेइजिङस्थित नेपाली दूतावासले समेत जनाएको छ ।

प्रधानमन्त्री ओलीले चीनसँग नेपालको सम्बन्ध ऐतिहासिक विश्वास र पाँच सिद्धान्तमा आधारित शान्तिपूर्ण सहअस्तित्वमा रहेको उल्लेख गर्दै विकासका क्षेत्रमा चीनको सहयोगको प्रशंसा गरेका छन् ।

शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज नानकाइ जिल्लास्थित चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गरेका छन् । चिनियाँ क्रान्तिका नेता चाउ एनलाई चीनका पूर्वप्रधानमन्त्री छन् ।

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुवइगाउँस्थित धान उत्पादनको विशेष क्षेत्र (राइस कोर प्लान्टिङ एरिया)को भ्रमण गरेका छन् । प्रधानमन्त्री ओलीले हुवाइगाउँ भिलेजस्थित सो क्षेत्रमा जेडी ९३९ धानको बीउ उत्पादन तथा कृषि, पर्यटन र शिक्षालाई जोड्दै थालिएका नमूना कार्यबारे जानकारी लिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*