सामाजिक सञ्जाल दर्ता म्याद आज सकिँदै, फेसबुक–ट्विटरदेखि ह्वाट्सएपसम्म बन्द होला ?

१८ भाद्र २०८२, बुधबार १६:४८

काठमाडौँ । सामाजिक सञ्जाल दर्ताका लागि सरकारले जारी गरेको सूचनाको समयसीमा आज राति सकिँदैछ । भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै सरकारले सात दिनभित्र नेपालमा सञ्चालनमा रहेका र नेपाल प्रवेश गर्ने तयारीमा रहेका सामाजिक सञ्जाल कम्पनीहरूले दर्ता अनिवार्य रूपमा गर्नुपर्ने बताएको थियो ।

यस अवधिमा दर्ता नगर्ने वा सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई नेपालमै निष्क्रिय गराइने चेतावनी सरकारले स्पष्ट रूपमा दिएको छ । तर, हालसम्म कुनै पनि कम्पनीले सूचीकरणका लागि सम्पर्क गरेको छैन ।

सरकारले यसअघि टिकटकलाई नेपालमा रोक लगाएको थियो तर पछि सूचीकरणको प्रक्रियामा आएपछि पुनः सञ्चालनमा आएको हो । यस्तै टेलिग्रामलाई केही समयअघि निष्क्रिय बनाइएको थियो । अहिले भने फेसबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सएपलगायत सबै लोकप्रिय सामाजिक सञ्जाललाई दर्ता प्रक्रियामा सामेल हुन भनिएको छ ।

यसअघि पटक–पटक पत्राचार गरेर आग्रह गर्दा कुनै प्रतिक्रिया नआएपछि सरकारले मन्त्रिपरिषद्को निर्णयमार्फतै सात दिनको समयसीमा तय गरेको हो । गत बुधबार सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८०’ तथा सर्वोच्च अदालतको आदेशका आधारमा सूचीकरण प्रक्रिया अघि बढाइएको बताएका थिए ।

उनका अनुसार तोकिएको अवधिभित्र सूचीकरण नगर्ने वा सम्पर्कमा नआउने कम्पनीलाई क्रमशः नेपालमा निष्क्रिय गराइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*