राष्ट्र बैंकले बैंकिङ प्रणालीको अतिरिक्त तरलता तान्न ऋणपत्र जारी गर्ने तयारी

२० भाद्र २०८२, शुक्रबार ११:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता तान्न नयाँ मौद्रिक उपकरण प्रयोग गर्ने भएको छ । अहिलेसम्म निक्षेप संकलन र रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्दै आएको राष्ट्र बैंकले अब ऋणपत्र (बण्ड) जारी गरेर तरलता खिच्ने तयारी गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक किरण पण्डितले ऋणपत्र जारी गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । चालू आर्थिक वर्षको मौद्रिक नीतिअनुसार संरचनागत प्रकृतिको तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउन ऋणपत्र निष्कासन गर्ने व्यवस्था गरिएको छ ।

निक्षेप संकलन उपकरणमार्फत निरन्तर तरलता तानिरहेको राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिलाई लचिलो बनाएको दाबी गरेको छ । तर, कर्जाको माग घटेपछि बैंकिङ प्रणालीमा पैसा थुप्रिँदै गएको छ । कर्जाको माग सुस्त हुनु र ऋण असुली कमजोर हुनुले बैंक तथा वित्तीय संस्थाको पुँजीकोष, नाफा र लगानी क्षमतामा असर परेको देखिन्छ ।

राष्ट्र बैंकले गत बुधबार मात्रै ५० अर्ब रुपैयाँ तरलता तानेको थियो । २१ दिनका लागि निक्षेप संकलन उपकरण प्रयोग गरेर उक्त रकम तानिएको हो । चालु आर्थिक वर्ष सुरु भएयता ११ पटकमा पाँच खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी तरलता यसै माध्यमबाट खिचिएको छ । निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले न्यूनतम २१ दिनदेखि अधिकतम ५६ दिनसम्मका लागि तरलता प्रशोचन गर्दै आएको छ । हाल बैंकिङ प्रणालीमा करिब ६ खर्ब रुपैयाँ बढी तरलता रहेको अनुमान छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*