निर्माण क्षेत्रमा चहलपहलः वर्षदिनमा थपियो २१ अर्ब लगानी, कुन बैंकले दिए कति ऋण ?

काठमाडौँ । लामो समयदेखि मन्दीको चपेटामा परेको निर्माण क्षेत्र विस्तारै चलायमान बन्दै गएको छ । पछिल्लो समयमा अर्थतन्त्रका सूचकहरू क्रमशः सुधारोन्मुख देखिन थालेपछि ठप्पजस्तै भएको निर्माण उद्योग पुनः लयमा फर्किन थालेको हो । ठूला पूर्वाधार परियोजनाहरूले गति लिँदै जाँदा निर्माण कम्पनीहरू सक्रिय बन्दै गएका छन् भने यसले अर्थतन्त्रमा पुनः चहलपहल ल्याएको छ ।
जलविद्युत् आयोजना, सडक, पुल र बहुप्रतिक्षित भवन निर्माणमा निजी क्षेत्रको सक्रियता उल्लेखनीय रूपमा बढेको देखिन्छ । यस्ता आयोजनामा निजी लगानी क्रमशः बढ्न थालेपछि निर्माण व्यवसायीहरूको आत्मविश्वास पनि बढेको छ । लगानीकर्ताहरू फेरि यस क्षेत्रमा आकर्षित हुन थालेका छन्, जसको प्रत्यक्ष असर निर्माणजन्य गतिविधि विस्तारमा परिरहेको छ ।
यस्तै, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारी सहुलियत र अध्यादेशमार्फत गरिएको सुधारले पनि लगानी विस्तारमा सहयोग पुगेको छ । बैंकिङ क्षेत्रमार्फत ऋण उपलब्ध हुने वातावरण सहज भएपछि ठूला आयोजनामा लगानी बढेको छ । निर्माण क्षेत्रमा देखिएको सक्रियताले रोजगारी सिर्जना, आन्तरिक माग विस्तार र बैंकिङ कारोबारमा चहलपहल बढाएको छ । विकास निर्माणमा आएको यो सकारात्मक संकेत आर्थिक पुनरुत्थानको बलियो संकेत हो ।
यसैबीच, बैंकहरू पनि निर्माण क्षेत्रमा कर्जा प्रवाह बढाउन थालिसकेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा २० वटा वाणिज्य बैंकहरूले निर्माण क्षेत्रमा २ खर्ब ४ अर्ब ८८ कलाख रुपैयाँ कर्जा प्रवाह गरिसकेका छन् । यो अघिल्लो आर्थिक वर्ष २०८०।०८१ को तुलनामा साढे ११ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षमा १ खर्ब ८२ अर्ब ८६ करोड २ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । गत वर्षमा मात्रै बैंकहरुले २१ अर्ब १४ करोड ८५ लाख रुपैयाँ कर्जा निर्माण क्षेत्रमा प्रवाह गरेका छन् ।
अधिकांश बैंकहरुले निर्माण क्षेत्रमा लगानी बढाएका छन् भने तर ४ बैंकको भने घटेको देखिन्छ । निर्माण क्षेत्रमा सबैभन्दा ठुलो लगानी नबिल बैंकको देखिएको छ । बैंकले यो क्षेत्रमा २४ अर्ब ८२ करोड ९० लाख रुपैयाँ कर्जा निर्माण क्षेत्रमा लगानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ६.२२ प्रतिशत बढी हो ।
यता, एनआईसी एशिया बैंकले निर्माण क्षेत्रमा कर्जा लगानी ४९.२२ प्रतिशतले बढाएर २२ अर्ब ४ करोड ३५ लाख रुपैयाँ पुराएको छ । समिक्षा अवधिमा लक्ष्मी सनराइज बैंकले १८.५२ प्रतिशतले निर्माण क्षेत्रका कर्जा प्रवाह बढाएर १९ अर्ब ८६ करोड ७२ लाख रुपैयाँ पुराएको हो ।
समिक्षा अवधिमा कुमारी बैंकले निर्माण क्षेत्रमा १५ अर्ब ८७ करोड कर्जा निर्माण क्षेत्रमा प्रभाव गरेको छ । तर, अघिल्लो आर्थिक वर्षको तुलनामा १८.५२ प्रतिशतले बढी हो ।
त्यसतै, निर्माण क्षेत्रमा क्रमशः सिटिजन्स बैंकले १५ अर्ब ४९ करोड, प्रभु बैंकले १३ अर्ब ९८ करोड, प्राइम बैंकले १३ अर्ब ४५ करोड, कृषि विकास बैंकले १२ अर्ब ५५ करोड, ग्लोबल आइएमई बैंकले ९ अर्ब ५ करोड, स्टान्र्डड चार्टड बैंकले ८ अर्ब ७८ करोड, माछापुच्छ्रे बैंकले ७ अर्ब ८९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७ अर्ब ३९ करोड, सानिमा बैकले ७ अर्ब २८ करोड, एनएमबि बैंकले ६ अर्ब ३१ करोड, सिद्धार्थ बैंकले ४ अर्ब ८२ करोड, एभरेष्ट बैंकले ३ अर्ब ८९ करोड र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यता, नेपाल बैंकले ३ अर्ब ३८ करोड, हिमालयन बैंकले २ अर्ब ३८ करोड र नेपाल एसबिआई बैंकले ९१ करोड ६० लाख रुपैयाँ निर्माण क्षेत्रमा कर्जा प्रवाह गरेका छन् ।













