जेनजी प्रदर्शनीः मृत्यु हुनेको संख्या ३४ पुग्यो

२६ भाद्र २०८२, बिहीबार १३:१२

काठमाडौँ । शासकीय अव्यवस्थाविरुद्ध सुरु भएको जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट संकलित तथ्यांकमा मृत्यु हुनेको संख्या ३४ पुगेको हो ।

हालसम्म देशभरका विभिन्न अस्पतालमा उपचाररत घाइतेको संख्या १ हजार ३६८ पुगेको छ । तीमध्ये ३२१ जना अझै अस्पतालमा उपचाररत छन् भने ९४९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २, बयोधा अस्पतालमा २, त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल र बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोड्ने प्रयास गरेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । सो क्रममा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको आन्दोलनकारीहरूको आरोप छ । गोली लागेर गम्भीर घाइते भएका धेरैलाई प्रदर्शनकारीहरूले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । कतिपयको बाटैमा मृत्यु भएको छ भने केहीको उपचारका क्रममा निधन भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*