नेपाली सेनाद्वारा ९४ नाल हतियार बरामद, रामेछापमा गोली लागी २ कैदीको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा हालै उत्पन्न भएका सुरक्षा चुनौतीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई सेनाले नियन्त्रणमा लिन सफल भएको सेनाले जनाएको छ।
त्यस क्रममा कञ्चनपुरको चाँदनी नाकामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ७ जना कैदीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएर नेपाली सेनालाई बुझाएको हो। त्यस्तै १ जना कैदीलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाएका छन् भने १२ जना कैदी आफैं कारागारमा हाजिर भएका छन्।
यसैबीच, रामेछापस्थित जिल्ला कारागारमा कैदीहरूले बाहिर जानुपर्ने माग गर्दै उत्पात मच्चाउँदा अवस्था नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउनुपरेको थियो। सेनाले चलाएको गोली लाग्दा १२ जना कैदी घाइते भएका छन् भने २ जनाको मृत्यु भएको पुष्टि भएको छ।
त्यसैगरी, काभ्रेपलान्चोक जिल्लाको बनेपा-९, नयाँ बस्तीमा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ।
सेनाले हालसम्म विभिन्न कारबाहीका क्रममा ९४ नाल हतियार बरामद भएको समेत जनाएको छ।













