पूर्वन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी

पूर्वन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति पौडेलले बिहीबार दिनभर र मध्यरातसम्मै छलफल र परामर्श जारी राखेका छन्।
उच्च राजनीतिक स्रोतका अनुसार बिहीबार दिउँसो राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त रूपमा छलफल गरेका थिए।
महानगरपालिकाका मेयर बालेन शाहका प्रतिनिधिसहित अन्यले पनि संसद् विघटनको माग गरे पनि राष्ट्रपति पौडेलले अस्वीकार गरेका छन्।
राष्ट्रपति पौडेलले संविधानको संरक्षणक र पालकका रूपमा जिम्मेवारी निर्वाह गर्ने सहमति पनि शीतलनिवासमा भएको छ। वर्तमान संविधानको धारा ६१ (४) मा रहेको बाधा अड्काउ फुकाउको व्यवस्थाअनुसार राष्ट्रपति पौडेलले कार्कीलाई नियुक्त गर्ने भएका हुन्। यस धारामा ‘संविधानको पालना र संरक्षण गर्नु राष्ट्रप्रमुखको प्रथम कर्तव्य रहेको मानिनेछ’ भनिएको छ।
जेन–जी समूहद्वारा प्रस्तावित प्रधानमन्त्री सुशीला कार्कीले पनि बिहीबारै प्रधानसेनापति सिग्देल र राष्ट्रपतिसँग भेट र छलफल गरेकी छिन्। मध्यरातसम्म पनि तीन जनाबीच शितल निवासमा छलफल जारी छ।













