‘नयाँ सरकार सिंहदरबारबाटै चल्ने’

काठमाडौँ । मुख्य सचिव एकनारायण अर्यालले नयाँ सरकार सिंहदरबारमै गठन हुने र त्यहीँबाट सञ्चालन हुने स्पष्ट पारेका छन्। शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेनजीको मागअनुसार बन्ने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताए।
सिंहदरबार जलेपछि प्रधानमन्त्रीको कार्यालय नारायणहिटीमा सारिने भन्ने चर्चा चलेपनि त्यसको खण्डन गर्दै मुख्य सचिव अर्यालले त्यो हल्लामात्र भएको उल्लेख गरे।
उनका अनुसार मन्त्रालयमार्फत सेवाप्रवाह गर्ने तयारी अघि बढाइएको छ। उनले भने, ‘कति क्षति भएको छ भन्ने आकलनपछि क्षति कम भएको ठाउँबाट सेवा प्रवाह गर्ने कुराहरू भइरहेको छ। त्यहीअनुसार हामी काम अगाडि बढाउँछौं।’
अर्यालले सिंहदरबारमा भएको अभिलेखको क्षति कल्पनासम्म गर्न नसकिने बताए। साथै पूर्वाधार र सवारी साधनको क्षतिबारे प्राविधिक रूपमा मूल्यांकन गरेर आवश्यक व्यवस्थापन गर्ने स्पष्ट गरे।













