जेन जी प्रर्दशनी: दुई दर्जन होटलमा २५ अर्बको क्षति

२७ भाद्र २०८२, शुक्रबार १४:०७

काठमाडौं । होटल संघ नेपालले यसै हप्ताको आन्दोलनका क्रममा देशभरका करिब दुई दर्जन होटलमा तोडफोड, आगजनी र लुटपाट भएको जनाएको छ। संघका अनुसार सो घटनाबाट स्वदेशी तथा विदेशी ब्राण्डका नाम चलेका होटलहरूसमेत प्रभावित भएका छन्।

संकलित प्रारम्भिक विवरणअनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुरलगायतका क्षेत्रमा रहेका होटल प्रतिष्ठानमा ठूलो क्षति भएको हो। संघले जनाएको अनुसार काठमाडौंस्थित हिल्टन होटल मात्रबाट ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। यसैगरी देशैभरका होटलमा मिलाएर करिब २५ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको बताइएको छ।

संघका अनुसार तोडफोड र आगजनीका कारण हाल ती होटलहरू संचालन अवरुद्ध भएका छन्। मर्मतसंभार र पुनर्निर्माण नगरी सञ्चालनमा ल्याउन नसकिने अवस्था भएकोले करिब दुई हजारभन्दा बढी कामदार कर्मचारीको रोजीरोटीमा समेत प्रत्यक्ष असर परेको छ। चाडपर्वको समयमा रोजगारी गुम्ने अवस्था सिर्जना हुनुका साथै प्रभावित होटलहरूले बैंक तथा वित्तीय संस्थामा रहेका दायित्व नियमित बुझाउन पनि असमर्थ हुने देखिएको संघको भनाइ छ।

सर्वसाधारणले सेयर लगानी गरेको पब्लिक लिमिटेड कम्पनीसहित निजी क्षेत्रका होटलमा भएको यो ठूलो क्षति पीडादायी भएको संघले जनाएको छ। संघले यसबारे शक्तिशाली अधिकार प्राप्त न्यायायिक समितिबाट छानबिन गरी अपराधीलाई दण्ड दिनुका साथै क्षतिपूर्ति दिलाउन माग गरेको छ। साथै, प्रभावित होटलहरूको मर्मतसंभार र पुनर्निर्माणका लागि राज्यले विशेष आर्थिक प्याकेज उपलब्ध गराउनुपर्ने संघले जोड दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*