विनाशको बाबजुद सिजी समूह अहिलेभन्दा बलिया भएर उदाउनेछः निर्वाण चौधरी

काठमाडौँ । पछिल्ला केही दिन सिजी समूहका लागि कम्पनीको इतिहासकै सबैभन्दा पीडादायी समय बनेको छ। युवाहरूले जवाफदेहिता र परिवर्तनको माग गर्दै सुरु गरेको आन्दोलन बाह्य शक्तिहरूको हस्तक्षेपमा दंगा, तोडफोड र लुटपाटमा परिणत भयो।
यस क्रममा सिजी समूहका अध्यक्षलाई निशाना बनाइयो, उनका घरमा आक्रमण र आगजनी भयो भने कम्पनीका कारखाना, कार्यालय र शो-रूमहरूमा ठूलो क्षति पुगेको छ। दशकौंको मेहनत र समर्पण केही घण्टामै खरानीमा परिणत भएको घटनाप्रति प्रबन्ध निर्देशक निर्वाण चौधरीले गहिरो दुःख व्यक्त गरेका छन्।
चौधरीले भनेका छन्, ‘यो केवल सम्पत्तिमाथि आक्रमण थिएन। यो हाम्रो आशा, विश्वास र राष्ट्रका लागि केही सार्थक निर्माण गर्ने विचारमाथिको आक्रमण थियो।’
तर, यस अन्धकारमय समयमा पनि केही असाधारण देखिएको उनले बताएका छन्। आगो र अराजकताबीच पनि कम्पनीका प्रबन्धक तथा कर्मचारीहरूले आफ्नो सुरक्षालाई जोखिममा राख्दै कम्पनीका संरचना बचाउने प्रयास गरिरहेका थिए। ग्राहकको विश्वास कायम राख्ने उनीहरूको प्रयासलाई चौधरीले सबैभन्दा महत्वपूर्ण भनी उच्च मूल्याङ्कन गरेका छन्।
‘सबै कुराहरू भत्किँदा पनि दृढ भएर उभिएका तपाईंहरू प्रत्येकलाई म सलाम गर्छु। तपाईंहरूले देखाउनुभयो कि सिजी केवल कम्पनी होइन, यो दृढता, निष्ठा र साहसले बाँधिएको परिवार हो। तपाईंहरूको कारण विनाशको बाबजुद पनि हाम्रा ग्राहकहरू हामीसँगै रहिरहे’ चौधरीले फेसबुक स्टाटसमा उल्लेख गरेका छन्।
चौधरीले स्पष्ट पारेका छन् पराधीहरूले भवन जलाउन सक्छन्, शो-रूम लुट्न सक्छन्, तर सिजी समूहका मूल्य मान्यता र सपना उनीहरूले कहिल्यै लुट्न सक्दैनन्। कम्पनी अझ बलियो भएर पुनः निर्माण र उदाउने अभियानमा रहेको उनले बताएका छन्।
साथै चौधरीले सिजी समूहको राष्ट्रिय योगदान स्मरण गराउँदै भनेका छन् चौधरी समूह नेपालकै ठूलो करदाता, रोजगारी दिने संस्थामध्ये एक र राष्ट्र निर्माणको अग्रपंक्तिमा रहने संस्था हो।
प्रबन्ध निर्देशक चौधरीले अन्ततः कर्मचारीहरूलाई धन्यवाद दिँदै भनेका छन्, ‘सिजी परिवारका प्रत्येक सदस्य तपाईंहरू नै यस संस्थाको मुटु हुनुहुन्छ। सँगै, हामी केवल बाँच्छौं मात्र होइन, उज्वल भविष्य निर्माण गर्नेछौं।’













