नयाँ प्रधानमन्त्री बस्ने सिंहदरबार कस्तो बन्दैछ ?

२७ भाद्र २०८२, शुक्रबार १६:३९

काठमाडौं । अब बन्‍ने अन्तरिम सरकारका नयाँ प्रधानमन्त्रीका लागि सिंहदरबारमा व्‍यवस्थापन सुरु गरिएको छ ।मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको अध्ययनमा यो विकल्पबारे कुरा भएको एक सचिवले जानकारी दिए ।

बुधबार आन्दोलनकारीको निसानामा परेको सिंहदरबारमा अहिलेसम्मकै ठूलो आक्रमण भएको थियो । सोही क्रममा यहाँ सबैजसो भवनमा आक्रमण र आगजनी गरिएको छ । मन्त्रालयहरूका कागजात जलाइएको छ भने सवारी साधनमा व्यापक क्षति पुर्‍याइएको छ ।

मुख्यसचिव अर्यालले प्रधानमन्त्री र मन्त्रीहरू आइसकेपछि कहाँ(कहाँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे आज हेर्ने काम गरिएको जानकारी दिए ।

अन्तरिम प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का लागि अहिले सिंहदरबारमा व्यवस्थापन थालिएको छ । गृहमन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री राख्न लागिएको छ।

प्रधानमन्त्री कार्यालय र हालको गृहमन्त्रालय जलाएर ध्वस्त पारिएपछि अन्तरिम व्यवस्था गर्न लागिएको हो । गृहमन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालन गर्ने तयारी गरिएको त्यहाँ पुगेका हाम्रा सहकर्मीले बताएका छन् .

अहिले गृहमन्त्रालय रहेको भवन पनि ध्वस्त भइसकेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गृहमन्त्रालय सारेर केशरमहलमा शिक्षा मन्त्रालयलाई सार्ने तयारी भइरहेको छ ।

मुख्यसचिव एकनारायण अर्यालले शुक्रबार बिहानै सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयको स्थलगत अनुगमन गरेका थिए ।

प्रधानमन्त्री कार्यालय बस्नै नसकिने अवस्थामा ध्वस्त भएको रहेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*