नवनियुक्त प्रधानमन्त्री कार्कीलाई चीनको बधाई, द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्ने आश्वासन

२९ भाद्र २०८२, आईतवार १०:४७

काठमाडौं । चीन सरकारले नेपालको नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै दुई देशबीचको ऐतिहासिक मित्रतालाई अझ प्रगाढ बनाउन प्रतिवद्धता व्यक्त गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले आइतबार एक विज्ञप्ति जारी गर्दै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त भएको अवसरमा बधाई दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘चीनले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री बन्नुभएकोमा सुश्री सुशीला कार्कीलाई बधाई छ। चीन र नेपालको मित्रता पुरानो र ऐतिहासिक छ।’

चिनियाँ पक्षले नेपाली जनताले रोजेको विकास मार्गप्रति सम्मान जनाउँदै आगामी दिनमा समेत नेपालसँगको सम्बन्धलाई मजबुत बनाउन इच्छुक रहेको जनाएको छ । ‘चीनले सधैंझैं नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्दछ’ प्रवक्ताले भनेका छन् ।

यस्तै, चीनले दुई देशबीच आपसी सहयोगलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको पनि स्पष्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपालसँग मिलेर पञ्चशीलका सिद्धान्तलाई प्रवर्द्धन गर्ने, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगलाई सुदृढ बनाउने र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउने तयारीमा छौं।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*