लगानीकर्ताहरुको ‘हिँड काठमाडौं’ अभियान: बजार सुधारको माग राख्दै पुगे बोर्डको दैलोमा

२१ कार्तिक २०८२, शुक्रबार १२:१८

काठमाडौँ ।  शेयर बजारमा निरन्तर आउने उतार–चढाव र व्यवस्थापनका कमजोरीप्रति असन्तुष्टि व्यक्त गर्दै पूँजीबजारका लगानीकर्ताले ‘हिँड काठमाडौं’ अभियान सुरु गरेका छन् । यही अभियानको क्रममा उनीहरु सोमबार नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेका छन्।

बजारलाई व्यवस्थित, विश्वासयोग्य र दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै अभियान सम्हालिरहेका लगानीकर्ता आदित्य सिवाकोटीले बोर्डको ढिलासुस्तीले समस्या थपिएको आरोप लगाए । सुधारका मुद्दालाई तहलगत रूपमा अघि बढाउन आफूहरू बोर्डमा पुगेको उनको भनाइ छ।

लगानीकर्ताले तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै २८ बुँदे मागपत्र सेबोनमा पेस गरेका छन्। मागपत्रमा पूँजीबजार विस्तार तथा सुधारका लागि नीति–कार्यक्रम प्रभावकारी रूपमा लागू गरिनुपर्ने, गैरआवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा सहज प्रवेश–निर्गमनको सुनिश्चितता दिलाउनुपर्ने तथा करको समान व्यवस्था लागू गर्नुपर्ने उल्लेख छ।

त्यस्तै, शेयर बिक्रीपछि भुक्तानी ढिलाइ भएमा ब्रोकरमार्फत ब्याज असुल गर्न पाउने प्रबन्ध मिलाउनुपर्ने, बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको २० प्रतिशतसम्म शेयर धितो कर्जा प्रवाह गर्नुपर्ने जस्ता मुद्दा उठाइएको छ।

ब्रोकर कमिशन आधा कटौती गर्दै अन्य सेवा शुल्क हटाउनुपर्ने, अल्पकालीन पूँजीगत लाभकर पाँच प्रतिशत र दीर्घकालीन लगानीमा शून्य प्रतिशत कायम गर्नुपर्ने, बजारको कारोबार समय बेलुका ५ बजेदेखि ९ बजेसम्म सार्नुपर्ने, बैंक तथा वित्तीय संस्थाले किनेका शेयर तत्काल बिक्री गर्न नपाउने प्रावधान हटाउनुपर्ने लगायतका माग उनीहरुले अघि सारेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*