डेडिकेटेड ट्रंकलाइन विवाद समाधानतर्फ: शिवम् सिमेन्टसहित ९ उद्योगले तिरे पहिलो किस्ता

काठमाडौँ । लामो समयदेखि विवादमा परेको डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् आपूर्तिको मुद्दा समाधानतर्फ अघि बढ्न थालेको छ । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच सहमति भएपछि विभिन्न उद्योगहरूले विवादित बक्यौताको पहिलो किस्ता बुझाउन थालेका छन् ।
शिवम् सिमेन्ट उद्योगले बक्यौतामा रहेको ६६ करोड ८८ लाख रुपैयाँलाई २८ किस्तामा विभाजन गरी पहिलो किस्ताबापत २ करोड ३८ लाख रुपैयाँ बुझाएको छ । पहिलो किस्ता बुझाएपछि प्राधिकरणले शिवम् सिमेन्टको काटिएको विद्युत् सेवा पुनः जडान गरेको छ ।
यस्तै, हिमाल आइरनसहित अन्य उद्योगहरूले पनि प्राधिकरणले तोकेको पहिलो किस्ता बुझाएका छन् । प्राधिकरणका अनुसार हालसम्म कुल ९ उद्योगले ‘धरौटी’का रूपमा पहिलो किस्ता तिरेका छन् ।
भैरहवा क्षेत्रमा रहेका पञ्चकन्या समूहका विभिन्न उद्योग—पञ्चकन्या प्लास्टिक, पञ्चकन्या स्टिल, सिद्धार्थ पेट प्लास्ट र श्याम प्लास्टिक—ले पनि प्राधिकरणले दाबी गरेको बक्यौताको एक–एक भाग बुझाएका छन् । ती उद्योगहरूको बक्यौता क्रमशः २४ लाख ६३ हजार, ५२ लाख १९ हजार, १ करोड ८३ लाख र ४९ लाख १० हजार रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, भलवारी स्वचालित चिया कारखाना, एसआर फुड्स र एसआर स्टिलले पनि पहिलो किस्ता बुझाएका छन् । ती उद्योगहरूको बक्यौता रकम क्रमशः ३० लाख, १ करोड ४८ लाख र १६ लाख रुपैयाँ रहेको छ ।
बुधबार घराना फुड्स र गोयन्का फुड्सले पनि किस्ता बुझाएका छन् । प्राधिकरणका तथ्यांकअनुसार घरानाको बक्यौता १ करोड ७ लाख ६९ हजार र गोयन्काको १ करोड ४७ लाख ६७ हजार रुपैयाँ रहेको छ ।
बिहीबार रिलायन्स स्पिनिङ मिल्स र त्रिवेणी सिन्थेटिकले पनि किस्ता बुझाएका छन् । रिलायन्सले २ करोड ७५ लाख रुपैयाँ धरौटीबापत बुझाएको छ । प्राधिकरणका अनुसार रिलायन्समा ७५ करोड ३६ लाख ८४ हजार र त्रिवेणी सिन्थेटिकमा ४ करोड ३९ लाख ८३ हजार रुपैयाँ बक्यौता रहेको छ ।













