सेबोनका कर्मचारीको चेतावनी: कात्तिक मसान्तसम्म सम्झौता कार्यान्वयन नभए सशक्त आन्दोलनमा

२४ कार्तिक २०८२, सोमबार १७:५५

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरूले कात्तिक मसान्तभित्र माग सम्बोधन र सम्झौता कार्यान्वयन नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सोमबार नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन र नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले संयुक्त विज्ञप्ति जारी गर्दै सम्झौता पालनामा ढिलाइ हुँदै गए आफूहरूलाई आन्दोलनको बाटोमा जान बाध्य पारिने बताएका हुन् ।

विज्ञप्तिमा अर्थ मन्त्रालय र सेबोनबीच भएको वार्तामा मन्त्रालयले कर्मचारीहरूले उठाएका मागहरू पूरा गर्न सहमति जनाए पनि त्यसको कार्यान्वयनमा देखिएको ढिलाइप्रति असन्तोष प्रकट गरिएको छ । साथै, कर्मचारीहरूले विगतमा पाएको सेवा–सुविधा कटौती गर्ने वा सरकारी बाँकी सरह फिर्ता गर्नुपर्ने अमानवीय व्यवस्था लागू नगर्ने सहमति समेत भएको स्मरण गराइएको छ ।

सेबोनका कर्मचारीहरूले गत ४८ दिनदेखि विभिन्न चरणमा आन्दोलन गर्दै आएका थिए । विज्ञप्तिमा हालको असहज परिस्थितिको स्थायी समाधान नआएसम्म आन्दोलनको स्वरूप परिवर्तन गरी अघि बढ्ने उल्लेख गरिएको छ । त्यसक्रममा दैनिक एक घण्टा धर्ना कार्यक्रमलाई निरन्तरता दिइने तर तत्कालका लागि ‘पेन डाउन’ कार्यक्रम स्थगित गरी काममा फर्कने निर्णय गरिएको छ ।

कर्मचारी संगठन र यूनियनका अनुसार, कात्तिक मसान्तसम्ममा कर्मचारीका माग सम्बोधन गर्दै बोर्डको कर्मचारी सेवा शर्त नियमावलीमा आवश्यक संशोधनसहित अर्थ मन्त्रालयबाट स्वीकृति दिने सम्झौता भएको छ । तर, उक्त सहमति व्यवहारमा नआए आन्दोलनलाई अझ सशक्त र व्यापक बनाइने चेतावनी उनीहरूले दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*