बिराटनगरबाट काठमाडौं आउदै गरेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या, तत्कालै आपतकालिन अवतरण

काठमाडौं । विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या आएपछि पुनः बिराटनगरमै आपतकालिन अवतरण गराइएको छ ।
आज अपरान्ह २ः५५ बजेको लागि निर्धारित उडानमा रहेको ९एन एएमडी कल साईन भएको जहाज साँझ पाँच बजेमात्रै काठमाडौंको लागि उडेको थियो । तर, जहाज उडेको १० मिनेटमै पुनः विराटनगरस्थित विमानस्थलमा अवतरण गराइएको हो । विराटनगरबाट १६ः५७ बजे काठमाडौंका लागि टेक अफ गरेको जहाज १७ः०७ बजे पुनः विराटनगरस्थित विमानस्थलमै अवतरण गरेको थियो ।
काठमाडौं आउन दुई बजेदेखि कुरिरहेका यात्रुहरु उक्त उडानमा आएको समस्याले ठूलो मारमा परेका छन् । उनीहरु विराटनगरस्थित विमानस्थलमा अलपत्र परेका छन् ।
विमानस्थल स्रोतका अनुसार बुद्ध एयरको जहाजको इन्जिनमा समस्या आएपछि विराटनगर विमानस्थलमै आपतकालिन अवतरण गराइएको हो । जहाजले टेक अफ गरेको करिब पाँच मिनेट पछि नै आपतकालिन अवतरणको लागि अनुमति मागेको थियो । जहाजको कुन इन्जिनमा समस्या आएको थियो भन्ने तथ्य कम्पनीले सार्वजनिक गरेको छैन ।
जहाज कोशी ब्यारेज समेत नपुग्दै इन्जिनमा समस्या आएपछि आपतकालिन अवतरणको अनुमति माग्दै विराटनगर विमानस्थलमा सकुशल अवतरण गराइएको हो ।
पछिल्लो समय बुद्ध एयरको जहाजमा पटक पटक समस्या देखिदै आएको छ । विश्वास गुम्दै जाँदा बुद्ध एयरमा यात्रा गर्ने यात्रुहरु त्रासमा पर्ने गरेका छन् । आजको घटनापछि बुद्ध एयरको उडान सुरक्षामाथि गम्भिर प्रश्न चिन्ह खडा हुन पुगेको छ ।
तस्विरः बिनोद न्यौपानेको फेसबुकमार्फत













