हिरोको भिडा भीएक्सटू गो अब ठूलो ब्याट्रीसहित : एकपटक चार्जमै १०० किलोमिटर रेन्ज

२५ कार्तिक २०८२, मंगलवार १७:२६

काठमाडौं । हिरो मोटोकोर्पको इलेक्ट्रिक ब्रान्ड भिडाले आफ्नो लोकप्रिय स्कुटर भीएक्सटू गोलाई अझ सशक्त रूपमा प्रस्तुत गरेको छ। कम्पनीले नयाँ संस्करणमा ठूलो क्षमताको ब्याट्रीप्याक जडान गरी बजारमा ल्याएको छ, जसले यस स्कुटरको प्रदर्शन र दूरी दुवैमा सुधार ल्याएको छ।

नयाँ भेरियन्टमा ३.४ किलोवाट आवर क्षमताको ब्याट्रीप्याक समावेश गरिएको छ। यसअघि उपलब्ध भेरियन्टमा २.२ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको थियो। ब्याट्री क्षमतामा भएको यो सुधारका कारण स्कुटरले अब बढी दूरी तय गर्न सक्ने भएको छ।

भारतीय बजारमा भिडा भीएक्सटू गो ३.४ भेरियन्टको मूल्य १ लाख २ हजार भारतीय रुपैयाँ तोकिएको छ। कम्पनीले स्कुटरलाई ब्याट्री एज ए सर्भिस योजनामार्फत पनि उपलब्ध गराउने घोषणा गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले ३.४ किलोवाट आवरको भेरियन्ट केवल ६० हजार भारतीय रुपैयाँमा खरिद गर्न सक्नेछन्, भने ब्याट्री सेवा अन्तर्गत अलग्गै शुल्क तिर्ने व्यवस्था हुनेछ।

यो स्कुटरले वास्तविक (रियल वर्ल्ड) अवस्थामा १०० किलोमिटर रेन्ज प्रदान गर्ने बताइएको छ भने IDC (Indian Driving Cycle) मापदण्डअनुसार यसको रेन्ज १४२ किलोमिटरसम्म पुग्ने दाबी गरिएको छ। भिडा भीएक्सटू गोमा ६ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ, जसले ८.४ ब्रेकहर्स पावर बराबरको आउटपुट दिन्छ। यसको शीर्ष गति ८० किलोमिटर प्रतिघण्टा रहेको छ।

फिचरका दृष्टिले पनि यो स्कुटर अत्याधुनिक बनाइएको छ। यसमा डुअल रिमुभेबल ब्याट्री प्रणाली, इको र राइड मोड, अगाडिको पाङ्ग्रामा डिस्क ब्रेक र पछाडिको पाङ्ग्रामा ड्रम ब्रेक, आकर्षक अलोय ह्वील र ट्युबलेस टायर समावेश छन्। त्यसैगरी, टेलिस्कोपिक फोर्क फ्रन्ट सस्पेन्सन र पछाडितिर मोनोशक सस्पेन्सन प्रणालीले सवारीलाई थप स्थिर र आरामदायी बनाउँछ।

यसका अतिरिक्त भिडा भीएक्सटू गोमा रिभर्स गियर, सम्पूर्ण एलईडी हेडल्याम्प, एक टुक्रे (सिंगल पिस) सिट, अन्डर सिट स्टोरेज लगायतका आधुनिक सुविधाहरू पनि उपलब्ध छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*