जेन–जी आन्दोलको क्षतिमा तीन अर्ब ६८ करोड बीमा दावी भुक्तानी, कुन क्षेत्रमा कति ?

२५ कार्तिक २०८२, मंगलवार १७:५५

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्षतिमा परेको दावीमध्ये निर्जीवन बीमा कम्पनीहरुले हालसम्म तीन अर्ब ६८ करोड ४१ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरिसकेको छ । नेपाल बीमा प्राधिकरणले मंगलबार उपलब्ध गराएको तथ्यांक अनुसार सञ्चालित १४ निर्जीवन र चार लघु निर्जीवन बीमा कम्पनीहरुले उक्त दावी भुक्तानी गरेका हुन् ।

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी २३ अर्ब ४६ करोड ९१ लाख रहेको छ । बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९३ वटा दाबीको दाबी रकम १९ अर्ब ४ करोड ९ लाखमध्ये २ अर्ब ९२ करोड ८६ लाख रुपैयाँ र मोटर बीमातर्फ २ हजार २९० वटा दाबीको दाबी रकम ३ अर्ब ४७ करोड ७ लाख रुपैयाँमध्ये ६८ करोड ६१ लाख रुपैयाँ भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको ५४ करोड ७५ लाख रुपैयाँ दाबी रकममध्ये ६ करोड २३ लाख रुपैयाँ, परिवहन बीमातर्फ १२ वटा दाबीको १ करोड ६८ लाख रुपैयाँ दाबी रकममध्ये ४७ लाख रुपैयाँ र अन्य बीमातर्फ ४२ वटा दाबीको ३९ करोड ३० लाख रुपैयाँ दाबी रकममध्ये २३ लाख रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई २ अर्ब ४८ करोड १० लाख रुपैयाँ अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको छ । नेपाल पुनर्बीमा कम्पनीमा परेको कूल २ हजार ८५७ वटा पुनर्बीमा दाबीको दाबी रकम करिव रू. १५ अर्ब ८२ करोड ७० लाख रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*