डेडिकेटेड ट्रंकलाइन विवाद: घोराही सिमेन्टले बुझायो पहिलो किस्ता बापतको एक करोड ८१ लाख

२६ कार्तिक २०८२, बुधबार १६:०६

काठमाडौँ ।  घोराही सिमेन्टले डेडिकेटेड ट्रंकलाइनको बक्यौता तिर्दै पहिलो किस्ता बुझाएको छ। कम्पनीले पहिलो किस्ताका रूपमा एक करोड ८१ लाख रुपैयाँ बुझाएपछि नेपाल विद्युत प्राधिकरणले सो उद्योगको बिजुली लाइन काटेको छ।

बक्यौता रकमलाई २८ भागमा विभाजन गर्ने सहमतिअनुसार घोराही सिमेन्टले धरौटीस्वरूप पहिलो भाग बुझाएको हो। यसअघि दाङकै सोनापुर मिनरल एण्ड आयल प्रालिले पनि पहिलो किस्ता बुझाइसकेको थियो।

प्राधिकरणका अनुसार उद्योगहरूले माघ २०७२ देखि वैशाख २०७५ सम्मको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुल तिर्न बाँकी राखेका थिए। लामो समयदेखि जारी विवादपछि उद्योगीहरूले किस्ता बुझाउन थालेसँगै समस्या समाधानतर्फ प्रक्रिया अघि बढेको हो।

नेपाल उद्योग वाणिज्य महासंघको मध्यस्थतामा उद्योगी र प्राधिकरणबीच सहमति बनेको हो। सो सहमति अनुसार विवादित रकमको पहिलो किस्ता धरौटीका रूपमा बुझाउने र त्यसपछि प्राधिकरणले लाइन पुनः जडान गर्ने व्यवस्था मिलाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*